समाचार

कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा भारी वर्षा, खतराको घन्टी बजाइयो


काठमडौँ – कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा भारी वर्षा भएको छ । भारी वर्षा भएपछि खतराको संकेत स्वरुप साइरन बजाइएको छ । कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेशनमा भारी वर्षा मापन भएकाले खतराको संकेत स्वरुप साइरन बजाइएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा थप वर्षा हुने सम्भावना भएकाले आकस्मिक बाढी आउने र पहिरो जाने सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाले असार ३ गतेसम्म कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदीलगायत लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको चुरे, तराई भई बहने केही साना नदी नजिकको क्षेत्रमा पनि विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

ती नदीहरुमा बहाव बढ्ने र बाढीको सतह सतर्कता आसपास पुग्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ । आज प्रदेश नं. २, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना देखिएकाले सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ ।