राजनीति

पाँच पुर्वप्रधानमन्त्रीले देश विदेशीको हातमा गयो भन्नुको अर्थ के हो ? (भिडियोसहित)


काठमाडौँ – मुलुकको नेतृत्व गरिसकेका पाँच पुर्वप्रधानमन्त्रीले शनिबार संयुक्त विज्ञप्ती सार्वजनिक गर्दै देशमा विदेशी हस्तक्षेप बढेको दाबी गरेका छन् । तर कसरी र किन नेपाल विदेशीको कृडास्थल बन्यो, खुलाएका छैनन् । जनतालाई यथार्थ जनकारी दिनु उनीहरुको कर्तव्य होइन त ?

शनिबार पाँच पुर्वप्रधानमन्त्रीले संयुक्त विज्ञप्ती जारी गर्दै देश विदेशीको हातमा जादैछ भन्ने संकेत गरे । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले एक स्वर भएर बाह्य शक्तिको हस्तक्षेप बढेको दाबी गरेका थिए । अहिले उनीहरुको विज्ञप्तीलाई लिएर चौतर्फि दृष्टिकोणबाट बहस भइरहेको छ । विज्ञप्तीलाई आधार मानेर हेर्दा नेपालको आन्तरिक मामिलामा बाह्य शक्तिको राईँदाईँ चलेको पुष्टाई र पुर्वप्रधानमन्त्रीहरुले सुचना प्राप्त गरेको जस्तो देखिन्छ ।

तर कसका बलमा नेपालमाथि हस्तक्षेप बढेको छ भन्ने कुनै पक्षले खुलाएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सोझै लक्षित गरेर सार्वजनिक गरिएको विज्ञप्तीमा राष्ट्रघात हुने कुनै कदम नचाल्न पुर्वप्रधानमन्त्रीहरुले चेतावानी दिएका छन् । यसको अर्थ हुन्छ, प्रधानमन्त्री ओली विदेशीको इशारामा कुनै राष्ट्रघाती कदम चाल्न खोजिरहेका छन् । तर मुलुकको नेतृत्व गरिसकेका पुर्वप्रधानमन्त्रीहरुको यो विज्ञप्तीलाई सरकार पक्षले भ्रम छर्ने फण्डाका रुपमा अथ्र्याएको छ ।

यसअघि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओली भारतको टाङमुनि छिरेको आरोप लगाईसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत भारतले ओलीको कदमलाई समर्थन गरेकोमा चित्त दुखाएका थिए । केहीदिन अघिमात्रै पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको व्यवस्था जोखिममा पर्न थालेको सुचना आफुले पाएको सार्वजनिक गरेका थिए ।

त्यसको केहीदिन पछि भारततर्फ संकेत गर्दै विभिन्न अभिव्यक्ति दिइरहेका पाँच पुर्वप्रधानमन्त्रीले एक भएर विज्ञप्ती निकालेका हुन् । तर यी घटनाक्रमलाई नजिकबाट नियालीरहेकाहरुले विदेशीहरुले प्रधानमन्त्री ओलीलाई मात्रै च्यापेकाले ‘एउटालाई मात्रै नच्याप भन्दै हामी पनि छौं’ भन्ने सन्देश पुर्वप्रधानमन्त्रीले दिन खोजेको विश्लेषण गरिरहेका छन् । किनकी यहाँ सत्तामा जो पुग्छ उसैले विदेशीको गुनगान गाउनुपर्छ र उहीँ नै विदेशीको इशारामा चलेको हुन्छ भन्ने संस्कारको विकास भएको छ ।

प्रधानमन्त्री ओलीलाई निरन्तर व्यवस्था र संविधानमाथि प्रहार गर्ने बल विदेशीबाटै प्राप्त भएको छ भनेर विश्लेषण नभएको होईन । तर पाँच पूर्वप्रधानमन्त्रीलाई देश विदेशीको हातमा जादैछ भन्ने लाग्छ भने, कसरी र किन जादैछ ? यसको जवाफ दिएर जनतामाझ छर्लङग ल्याउनुपर्ने कर्तव्य उनीहरुको पनि हो । नत्र भने आफ्नै कार्यकालका बेला पनि विदेशीका अघि लम्पसार परेका चित्रहरुले उनीहरुलाई नै गिज्याउने छ ।