राजनीति

निषेधाज्ञा बारे छलफल गर्न उपत्यकाका सीडीओहरूको बैठक बस्दै


काठमाडौँ – काठमाडौँ उपत्यकाका तीन जिल्लाहरुमा जारी निषेधाज्ञाको विषयमा अब के गर्ने भन्ने बारे निर्णय गर्न आज बैठक बस्दैछ । काठमाडौँ, ललितपुर र भक्तपुरका सीडीओहरूको बैठक आज दिउँसो तीन बजे बस्ने तय भएको हो । बैठकमा जारी निषेधाज्ञाका बारेमा छलफल हुने बताइएको छ ।

बैठकमा काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुली, ललितपुरका प्रजिअ ढुण्डी प्रसाद निरौला र भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई सहभागी हुनेछन् । सो बैठकले निषेधाज्ञा लम्ब्याउने या मोडालिटी परिवर्तन गर्ने भन्नेबारेमा निर्णय लिने छ । उपत्यकाका तीन वटै जिल्लामा वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा भोलिसम्म कायम छ ।

थप एक साता निषेधाज्ञा लम्ब्याउने तयारी भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले बताएका छन् । तर, आज दिउँसो बस्ने बैठकले यसबारेमा निर्णय लिने उनको भनाइ छ । निषेधाज्ञा लम्ब्याइए पनि कृषिकार्य तथा विद्यालयका पुस्तक ढुवानी र बिक्रीको व्यवस्था मिलाइने उनले बताए ।