राजनीति

इन्जिनियर, ठेकेदारको लापरबाही सुधार्नु पर्छ : दीपक मनाङे


काठमाडौँ – गण्डकी प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ । शनिबार प्रदेश प्रमुखले कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्रीसँगै चारजना विनाविभागीय मन्त्रीले हिजै शपथ लिएका छनन् । जसमा स्वतन्त्रका सांसद राजीव गुरुङ (दीपक मनाङे) पनि रहेका छन् ।


यसअघि पृथ्वीसुब्बा गुरुङको नेतृत्वको सरकारमा रहँदा युवा तथा खेलकुद मन्त्रालय सम्हालेका मनाङेले यस पटक भने भौतिक पूर्वाधार विकास मन्त्रालय पाउने भएका छन् । शपथपछि पत्रकारसँग कुरा गर्दै यस क्षेत्रमा इन्जिनियर, ठेकेदारको बढी नै लापरबाही भएको र आफूले त्यसलाई सुधार्न भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय जाने बताएका हुन् । उनले भने “म अब जुन मन्त्रालयमा जाँदै छु त्यहाँ इन्जिनियर, ठेकेदारको लापरबाही छ । अब त्यो सुधार्ने हो ।”

यो मन्त्रालय योजना र आर्थिक हिसाबले निकै हेभीवेट मानिन्छ । साथै उनले आफूले युवा तथा खेलकुद मन्त्रालयमा काम गर्न जग बसाएको पनि बताएका छन् । उनले अब आउने खेलकुद मन्त्रीलाई काम गर्न गाह्रो नहुने बताए । “अब खेलकुदमा गएर काम गर्न गाह्रो छैन, ।”

यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालय माओवादीका रामजी बरालले पाउने पक्का भएको थियो तर, सरकार गुरुङको सरकार गिराउनमा मुख्य भूमिका रहेको मनाङेले मागेअनुसारकै मन्त्रालय पाउने निश्चित छ । कांग्रेसका एक सांसदले पनि मनाङे नै यो मन्त्रालय पाउने निश्चित रहेको बताए ।

मनाङेले खेलकुद मन्त्रालय कांग्रेस सांसद भागवतप्रकाश मल्ललाई दिनुपर्ने बताएका छन् । उनीहरूको मन्त्रालयको टुंगो लागिसकेको छैन । हाललाई ११ वटै मन्त्रालय मुख्यमन्त्री पोखरेल आफैँले राखेका छन् ।