राजनीति

दाईको कुटाईबाट भाईको मृत्यु


काठमाडौँ – महोत्तरीमा आफ्नै दाईको कुटपिटबाट भाईको मृत्यु भएको छ । मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराका ५५ वर्षीय लक्ष्मण साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।


जग्गासम्बन्धी विवादको विषयलाई लिएर मृतक लक्ष्मणका दाजु रामचन्द्र साहसहित परिवारका अन्य सदस्यले मिलेर गत बुधबार कुटपिट गरी उनलाई सख्त घाइते बनाएका थिए । दाईको कुटपिटबाट गम्भीर घाइते भएका लक्ष्मणलाई उपचारका लागि सोही दिन प्रादेशिक अस्पताल जनकपुर लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंस्थित ग्राण्डी अस्पतालमा लगिएकोमा बिहीबार उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


परिवारजनले उनको शव शुक्रबार राति भ्रमरपुरामा ल्याएका छन् । परिवारजन, आफन्त र स्थानीयवासीले उनको शवलाई सडकमा राखेर न्यायको माग गर्दै आज बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले मृतकका दाजु रामचन्द्र साह र उनका छोरा मुकेश साहलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।