मौसम

देशभर वर्षाको सम्भावना, २४ घण्टे चेतावनी जारी


काठमाडौँ – बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन आगमन भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् अनुसार एक दुई दिनमै मनसुन देशैभरि फैलिने सम्भावना छ । आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ । महाशाखाले शुक्रबार विशेष मौसम बुलेटिनमार्फत आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

‘देशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’

महाशाखाले मनसुनलाई निरन्तर अनुगमन गरिरहेको र सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन समेत अनुरोध गरेको छ । नेपालमा सामान्यतया मनसुन जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने गरेको छ । दक्षिण एशियाली जलवायु दुष्टिकोण मञ्च (एसएएससिओएफ) ले आगामी मनसुन अवधिमा नेपालका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको छ ।

हाल देशको पुर्वी भूभागमा पूर्वीय वायु तथा मध्य र पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ । तसर्थ देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसमविद् प्रधानाङ्गले बताए ।