समाचार

रसुवाको टिमुरेसम्म पुग्ने सडकको दुरावस्थाले स्थानीय समस्यामा (भिडियोसहित)


काठमाडौँ – सिन्धुपाल्चोकको तातोपानी नाकाको विकल्पको रुपमा हेरिएको रसुवाको टिमुरेसम्म पुग्ने सडकको दुरावस्थाले स्थानीय समस्यामा परेका छन् । सो सडक खण्डको स्तरोन्नति गर्ने विषय वर्षौदेखि योजनामा परेपनि ठेकेदारको लापरबाहिका कारण अलपत्र परेको छ ।

रसुवाको धुन्चेदेखि छिमेकी राष्ट्र चीन जोडिने नाका टिमुरे सडकको अवस्थाले स्थानीय नागरिकको दैनिकीमा समस्या पर्ने गरेको छ । हिमाली क्षेत्र भएकोले यस क्षेत्रमा पर्याप्त उब्जनी हुँदैन । दैनिक उपभोग्य सामानको लागि पनि अन्य जिल्लासँग भर पर्नुपर्ने अवस्था छ । सडकको अवस्था नाजुक हुँदा पर्याप्त सामान नपाइने र पाइएको सामान महँगो हुने, सडेगलेको खाद्यान्न पुग्ने हुँदा स्थानीय आजित भएका छन् ।

धुन्चे टिमुरे सडक खण्डको स्तरोन्नति गर्ने विषय वर्षौदेखि योजनामा परेपनि ठेकेदारको लापरबाहिका कारण अलपत्र परेको छ । मुख्य शहर जोड्न बाटो लामो भएको र सडकको अवस्था पनि सुध्रन नसकेपछि व्यापार, व्यवसाय पनि हुन छाडेको छ । विरामी भएर अस्पताल जान पनि नागरिकलाई सास्ती हुने गरेको छ ।

यता जनप्रतिनिधि सडकको स्तरोन्नति गर्न सरकारसँग विभिन्न चरणमा छलफल भएपनि मूर्तरुप पाउन नसकेको स्विकार गर्छन् । उत्तरी छिमेकी चीनसँग जोड्ने सहज नाकाको रुपमा हेरिएपनि आवश्यक भौतिक पूर्वाधारको कमिले प्रयोगमा आउन सकेको छैन् । यो सडकलाई पवित्र धार्मिक स्थल गोसाईकुण्ड जाने बाटोमा परिणत गर्नसके धार्मिक पर्यटनबाट आयआर्जन गर्न सकिने भएपनि निर्माणमा ध्यान गएको देखिदैन ।

यो सडक पासाङल्ह्यामु राजमार्गको नामले पनि चिनिन्छ । यस सडकको ठिक तल मैलुङ स्याफ्रुबेसी सडक पर्दछ । मैलुङ स्याफ्रुबेसी सडक टिमुरे सम्म पुग्ने भएकोले पासाङल्ह्यामु राजमार्ग कतै ओझेलमा पर्ने हो कि भनेर स्थानीय चिन्तित बनेका छन् ।