राजनीति

जनमोर्चाका सांसद कृष्ण थापा फेरि बर्खास्त


काठमाडौँ – राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा फेरि बर्खास्त भएका छन् । दलको ह्वीप विपरीत प्रदेश सभामा तटस्थ बसेको भन्दै उनलाई बर्खास्त गरिएको हो ।

जनमोर्चाले कारवाही गरेर सांसद पदबाट हटाएको पत्र शुक्रवार संसद् सचिवालयमा दर्ता भएको छ । शुक्रवार बसेको प्रदेश सभाको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले कारबाही सम्बन्धी पत्र पढेर सुनाएका छन् ।

आज बसेको गण्डकी प्रदेश सभाको बैठकमा सांसद थापाको पद गएको र मुख्यमन्त्रीले विश्वासको मत नपाएको सूचना संसद्मा जानकारी गराइएको छ ।उक्त जानकारी गराएर सभामुखले आइतबार १ बजेसम्मका लागि सदन स्थगित गरेका छन् । एमालेका मुख्य सचेतक मायानाथ अधिकारीले केही मन्त्री उपस्थित नभएका कारण सदन चल्न नसक्ने बताएका थिए ।

अब केहिबेरमा प्रदेश प्रमुखको कार्यालयलाई मुख्यमन्त्रीले विश्वासको मत नपाएको जानकारी गराउने सचिवालय सचिव हरिराज पोखरेलले जनाए । आज नै प्रदेश प्रमुखले संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान गर्नेछिन् ।

बर्खास्त भएका थापाको सन्दर्भमा भने यसअघि पनि जनमोर्चाले हृवीप उल्लंघन गरेको भन्दै २० जेठमा पनि उनलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको थियो । तर सर्वोच्चले पुर्नबहाली गरिदिएका थियो ।