राजनीति

मनाङेको पद बर्खास्त कि राजीनामा ?


काठमाडौँ – अहिले गण्डकी प्रदेश सरकारमा कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वी सब्बा गुरुङ र पूर्व युवा तथा खेलकुद मन्त्री रहेका राजीव गुरुङ (दीपक मनाङे) दोहोरी चलेको जस्तै भएको छ । जनमानसमा मनाङेलाई मुख्यमन्त्री गुरुङले पदबाट बर्खास्त गरेका हुन् कि मनाङे आफैले राजीनामा दिएका हुन् भन्ने अन्योलमा परेका छन् ।


मनाङेलाई पदमुक्त परिएको पत्र र मनाङेले राजीनामा दिएको पत्र एकै मिति र एउटै जस्तो समयमा सार्वजनिक भएका कारण मनाङेको बर्खास्त कि राजीनामा भन्ने प्रश्न उठेको हो । बिहीबार मुख्यमन्त्री गुरुङले उनलाई खेलकुद मन्त्री पदबाट बर्खास्त गरेको तथा उनले राजीनामा दिएको भन्ने खबर एकसाथ सार्वजनिक भएका थियो । सरकारका बहालवाला मन्त्रीले नै सरकारलाई विश्वासको मत नदिएको भन्दै कामचलाउ मुख्यमन्त्री गुरुङले मनाङेलाई बिहीबार साँझ पदमुक्त गरिएको पत्र प्रदेश प्रमुखसमक्ष पठाएका थिए ।

कामचलाउ मुख्यमन्त्री गुरुङकाे पत्र

यस्तै मन्त्री पदबाट बर्खास्त भएपछि मनाङेले पनि राजीनामा पत्र सार्वजनिक गरेका थिए । राजीनामा पत्रमा उनले विश्वासको मत नपाएको सरकारका मन्त्री हुन नैतिकताले नदिने र अब आफूले विपक्षी गठबन्धनलाई साथ दिने बताएका छन् । राजीनामा पत्रमा मनाङेले आफू हिजो विश्वासको मत लिँदा प्रदेश सभा बैठकमा अनुपस्थित हुनुको कारण पनि खुलाएका छन् । जसमा उनले विपक्षी गठबन्धनको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्ने उद्देश्यले आफू बिहीबारको बैठकमा अनपुपस्थित भएको उल्लेख गरेका छन् ।

दीपक मनाङेकाे राजीनामा पत्र

मनाङे मनाङ ‘ख’ बाट स्वतन्त्र रूपमा उम्मेदवा बनेर प्रदेश सांसदमा निर्वाचित भएका हुन्। मुख्यमन्त्री गुरुङले पहिलो कार्यकालमै मन्त्री बनाएका मनाङेलाई आफूविरुद्ध अश्विास प्रस्ताव दर्ता भएपछि मतदान हुनु एक दिनअघि पदबाट राजीनामा दिएका गुरुङले मन्त्रिमण्डल पुनर्गठन गर्दै हालै दोस्रोपटक पनि खेलकुद मन्त्री बनाएका थिए।

तर बिहीबार मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने बेला विपक्षीलाई समर्थन गर्ने भन्दै मनाङे मतदानमा सहभागी भएका थिएनन्। मनाङेले साथ नदिँदा विपक्षीले समेत बहुमत पुर्याउन नसक्ने र प्रदेश सभा नै विघटन हुने अवस्था छ। तर मनाङेले साथ दिने भएपछि अब विपक्षीले गठबन्धनको सरकार बनाउन सक्ने देखिएको छ ।