राजनीति

मतदानको समयमा अनुपस्थित हुँदा मनाङेको मन्त्री पद गुम्यो


काठमाडौँ – गण्डकी प्रदेशको कामचलाउ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दिपक मनाङे)लाई पदमुक्त गरेका छन्। सरकारका बहालवाला मन्त्रीले नै सरकारलाई विश्वासको मत नदिएको भन्दै उनलाई पदमुक्त गरेका हुन्।

गुरुङले बिहीवार (हिजो) बेलुकी नै मनाङेलाई पदमुक्त गरिएको पत्र प्रदेश प्रमुखसमक्ष पठाइकिेको छ । हिजो मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने क्रममा मतदानका बखत मनाङे प्रदेशसभामा अनुपस्थित थिए।

मनाङेले सम्हाल्दै आएको युवा तथा खेलकुद मन्त्रालय अब आफैले सम्हाल्ने गुरुङले प्रदेश प्रमुखलाई पठाएको पत्रमा उल्लेख छ। यता मनाङेले भने आफूले मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। उनले नयाँ सरकार बनाउन विपक्षी गठबन्धनलाई सहयोग गर्ने बताएका छन्।

मनाङ ‘ख’ बाट प्रदेशसभामा निर्वाचित मनाङेलाई मुख्यमन्त्री गुरुङले केही दिनअघि मात्रै मन्त्री बनाएका थिए।

कामचलाउ मुख्यमन्त्री गुरुङकाे पत्र