राजनीति

सभामुख, पूर्वप्रधानमन्त्री र शीर्ष नेताहरुबीच आज छलफल हुँदै


काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग शुक्रबार छलफल गर्ने भएका छन् । सभामुख सापकोटाले पत्राचार नै गरेर विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलका लागि आमन्त्रण गरेका हुन् ।


सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार सापकोटाले पूर्वप्रधानमन्त्री र संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बैठकमा बोलाइएको छ । उनले भने,‘असंवैधानिक रुपमा भएको प्रतिनिधिसभा विघटनका बारेमा छलफल गर्नका लागि बैठक बोलाइएको हो ।’

बैठक आज दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आयोजना गरिएको छ । छलफलका लागि बुधबार नै सबैलाई पत्र पठाइएको सभामुखको सचिवालयले बताएको छ। प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुख सापकोटाले यसअघि पूर्वसभामुख तथा कानून व्यवसायीसँग छलफल गरेका थिए । नेताहरुसँगको छलफलपछि सभामुख सापकोटाले पत्रकार र नागरिक समाजका अगुवाहरुसँग छलफल गर्ने तयारी गरेका छन् ।