राजनीति

बादल पत्नी नैनकला थापालाई सञ्चारमन्त्री उपहार, गृहमा ओलीकै प्रिय खगराज


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले खगराज अधिकारीलाई गृह मन्त्रालयको जिम्मा दिने भएका छन् । ओलीका अर्का प्रिय पात्र महेश बस्नेत पनि गृहका लागि चर्चामा रहेपनि अन्ततः खगराज अधिकारीले गृह मन्त्रालय सम्हाल्न लागेका हुन् ।
पूर्वगृहमन्त्री समेत रहेको रामबहादुर थापा बादलकी श्रीमती नैनकला थापालाई सञ्चार मन्त्रालयको जिम्मेवारी पाउने भएकी छिन् ।

पूर्व माओवादी केन्द्रबाट छुटेर एमालेमा आएका बादल समूहलाई फकाउन ओलीले अहिलेसम्म मन्त्री नबनेका बादलकी श्रीमतिलाई सञ्चार मन्त्रालयको जिम्मा दिन लागिएको हो । बालुवाटार श्रोतका अनुसार पूर्व माओवादी तर्फबाट आएका नेताहरुको व्यवस्थापनका लागि एक मन्त्रीको भागवण्डा मिलाइएको हो ।

त्यसैगरी वनमन्त्रीमा नारदमुनी राना, कृषि मन्त्रीमा ज्वालाकुमारी साह, उद्योग मन्त्रीमा राजकिशोर यादव र सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडीको नाम रहेको छ । शपथ ग्रहणका लागि ४ बजे आउनु भन्ने जानकारी आए पनि मन्त्रालयको भने कुनै टुंगो नलागेको एक नेताले जानकारी दिए । मोहन बानियाँलाई विनाविभागीय र वन राज्यमन्त्रीमा आशा विकलाई शपथ गराउन लागिएको बताइएको छ ।