राजनीति

आज मन्त्रिपरिषद् विस्तार गरिँदै, को को होलान् सात नयाँ मन्त्री ?


काठमाडौँ – रिक्त रहेको सात मन्त्रालायमा मन्त्री पदको पुर्ति गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन्। स्रोतका अनुसार आज मन्त्रीमण्डल विस्तार हुँदैछ र साँझ शपथ गराउने सम्भावना रहेको छ।

प्रधानमन्त्री ओलीले यही जेठ २१ गते जनता समाजवादी पार्टी (जसपा)लाई समावेश गरेर मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका थिए । जसपाका अध्यक्ष महन्थ ठाकुर पक्ष उपप्रधानसहित आठ मन्त्री र दुई राज्यमन्त्री लिएर सरकारमा सामेल भए। नेता राजेन्द्र महतो उपप्रधानसहित सहरी विकासमन्त्री बने ।
एमालेबाट चार मन्त्रीहरू पूर्ववत् रहे । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ दोहोरिए । उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितका १३ मन्त्रीहरु क्याबिनेबाट बाहिरीए ।

त्यस्तै, मन्त्रिपरिषद्मा अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल उपप्रधानमन्त्रीमा बढुवा भए, रघुवीर महासेठ उपप्रधानामन्त्री तथा परराष्ट्र र शेरबहादुर तामाङले स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाए । हाल मन्त्रिमण्डलमा नेकपा एमालेको तर्फबाट ६ मन्त्री छन् ।

ओलीले उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि गरी सात मन्त्रालय आफैँसँग राखेका छन् । यिनै मन्त्रालयका लागि ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

बाँकी रहेका मन्त्रालयमा गृहमा खगराज अधिकारी र महेश बस्नेतको पनि चर्चा चलिरहेको छ ।
सर्वोच्च अदालतले सांसद नभएकालाई मन्त्री बनाएको भन्दै परेको रिटमाथि अन्तरिम आदेश दिएर तत्काल काम नगर्न निर्देशन दिएपछि मन्त्री बनेका पूर्वमाओवादी नेताहरु ७ जना पदमुक्त भएका थिए।