राजनीति

माओवादीको प्रचण्ड र एमालेको गुटवन्दीले सबै गुमायौँ : ईश्वर पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्ड र एमालेको गुटवन्दीले देशले सास्ती पाएको बताउनुभएको छ । आज योहो टेलिभिजनको ‘सत्य संवाद’ कार्यक्रममा अन्तरवार्ता दिँदै पोखरेलले नेकपा विभाजनको मुल जड नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र आफ्नै पार्टीका नेता माधवकुमार नेपाल रहेको दावी गर्नुभएको हो ।

पोखरेलले भन्नुभयो, ‘एमालेभित्रको खराव कुरा भनेको गुटवन्दी हो, पछिल्लो समय गुटवन्दीको बाघ बनेर माधव नेपाल प्रस्तुत हुनुभयो, जो प्रतिस्पर्धा गरेर कहिल्यै पार्टीको नेतृत्व गर्नुभएको छैन ।’ पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले अझै पनि एमाले पार्टी एकताका लागि जोड गरिरहनुभएको उहाँको दावी छ । केहिदिन अघि मात्रै उपप्रधानमन्त्रीसहित मन्त्रीमण्डलको दोस्रो वरियतामा रहि पदमुक्त हुनुभएका एमाले महासचिव पोखरेलले संसद विघटनको सवालमा सर्वाेच्च अदालतले आदेश गर्न नमिल्ने तर्क समेत गर्नुभएको छ । योहो टेलिभिजनका समाचार प्रमुखसमेत रहनुभएका प्रस्तोता जीवराम भण्डारीसंग गरिएको नेता पोखरेलको उक्त अन्तरवार्ता बुधबार राती ९ः१० बजे योहो टेलिभिजनमा प्रसारण हुँदैछ ।