काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन भदौमा हुने बताउनुभएको छ । कांग्रेसले भदौ ७ देखि १० सम्म महाधिवेशन गर्ने निर्णय गरिसकेको थियो । तर कोरोनाको संक्रमण तीब्र रुपमा फैलिएकाले क्रियाशील सदस्यता वितरणको काम सकिएको छैन । अहिलेसम्म करिब ८ लाख क्रियाशील सदस्य पुगेका छन् ।
कतिपय जिल्लामा भने क्रियाशील सदस्यता वितरण नै भएको छैन । सभापति देउवाले आज प्रेस विज्ञप्तिमार्फत भदौमै महाधिवेशन हुने प्रष्ट पार्नुभएको छ ।
‘यस्तो विषम परिस्थितिमा पनि हामीले भदौमा पार्टीको महाधिवेशन सम्पन्न गर्नु परेको छ । म देशभरका साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु, भदौमा महाधिवेशन हुन्छ,’ देउवाले विज्ञप्तिमा भन्नुभएको छ । देउवाले महाधिवेशनका लागि तयारी गर्नुपर्ने पनि उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया