कोरोना विशेष

३ वर्षमाथिका बालबालिकालाई कोरोना खोप लगाउन चीनको अनुमति



काठमाडौँ – चीन सरकारले तीन वर्षमाथिका बालबालिकामा कोरोना विरुद्धको खोप लगाउन अनुमति दिएको छ । चिनियाँ खोप उत्पादक कम्पनी सिनोभ्याकका अनुसार तीन वर्षदेखि माथिका बालबालिकामा कोरोना खोपको प्रयोग गर्न स्वास्थ्य विभागले अनुमति दिएको हो । कोरोनाको तेस्रो लहरले बालबालिका सबैभन्दा धेरै जोखिममा पर्ने प्रक्षेपण भइरहेका बेला चिनियाँ खोपले आशा जगाएको छ ।

अहिलेसम्म प्रयोगमा रहेका १५ वटा खोपहरु सबैजसो १८ वर्षभन्दा माथिकालाई लगाइएको थियो । केही मुलुकहरुले १३ वर्षदेखि १८ वर्षसम्मका लागि खोप लगाउन अनुमति दिए पनि यति कम उमेरका बालबालिकामा खोप लगाउन अनुमति दिने चीन पहिलो मुलुक हो । अहिलेसम्म बालबालिकामा खोपको साइड इफेक्टका बारेमा कम अनुसन्धान भएका छन् ।

सिनोभ्याकका सीइओ यिन एइदोङले ३ वर्षदेखि १७ वर्षसम्मका बालबालिकामा गरेको दुई चरणको परीक्षणमा १८ वर्षमाथिकालाई जत्तिकै प्रभावकारी देखिएको बताएका छन् । चीन सरकारले कहिलेदेखि बालबालिकालाई खोप लगाउन सुरु गर्छ भन्ने यकिन भइनसकेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।