राजनीति

प्रचण्डद्वारा ओलीको भनाईको खण्डन; मेरो कारण एकता सफल भएन भन्नु भ्रामक र षड्यन्त्रपूर्ण


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपको खण्डन गरेका छन् । उनले आफ्ना कारण नेकपाको एकता प्रयास विफल भएको भन्ने ओलीको आरोप झूटो रहेको बताएका हुन् ।

ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्नु भ्रामक र षड्यन्त्रपूर्ण रहेको प्रचण्डले बताए । सामाजिक सञ्जाल फेशबुकमा सोमबार प्रतिक्रिया जनाउँदै उनले ओलीको भनाइको खण्डन गरेका हुन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झूट, भ्रामक र षड्यन्त्रपूर्ण छ,’ उनले लेखेका छन्, ‘त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’

आइतबार ओलीले एक प्रस्ताव प्रस्तुत गर्दै सर्वोच्च अदालतले अलग हुने फैसला गरेपछि पनि आफूले माओवादी केन्द्रसँग एकताको प्रस्ताव गरेको तर प्रचण्डको अनिच्छाका कारण सफल हुन नसकेको उल्लेख गरेका थिए ।