राजनीति

खनाल–नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै, ओलीको प्रस्तावमाथि छलफल हुने


काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्तावमाथि छलफल गर्न आज झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने एक नेताले जानकारी दिए ।

बैठकमा ओलीले राखेको प्रस्तावलाई कसरी लिने भन्ने विषयमा छलफल हुने छ । यसलाई विषयमा बैठकले आधिकारिक निर्णय गर्नेछ । ओलीले आइतबार साँझ एकताका लागि आह्वान गर्दै प्रस्ताव गरेका थिए । जसमा एमालेलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थामा फर्काउने बताएका छन्।

ओलीको प्रस्तावमा २०७५ जेठ ३ गते पूर्वको अवस्थामा फर्किन नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई पक्षमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखिएको छ। त्यस्तै, सर्वोच्च अदालतमा दिएको रिटमा गरेको हस्ताक्षर पनि फिर्ता लिनुपर्ने ओलीको सर्त छ।

एमालेको २०७५ जेठ ३ गते नेकपा माओवादी केन्द्रसँग एकीकरण भएको थियो। एकीकरण भएको साढे दुई वर्षपछि फेरि सर्वाेच्चको आदेशले गत फागुन २३ गते एकीकरण बदर गरिदिएको थियो। त्यसपछि एमालेभित्रै आन्तरिक द्वन्द्व चलिरहेको छ । एकै पार्टी दुई धारमा रहेको एमाले फुटको संघारमा पगेको छ ।
ओलीले आफू पक्षीय केन्द्रीय सदस्यको बैठक बसालेर नेपाल पक्षका पदाधिकारीको जिम्मेवारी खोसेका थिए। त्यस्तै, माओवादीबाट आएका २७ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए। नेपाल पक्षले त्यसको विरोध गर्दै आएको छ। जेठ ३ गते पूर्वको अवस्थामा फर्किनु पर्ने नेपाल पक्षले माग गर्दै आएको छ।