राजनीति

एमालेमा अब तीन गुट सक्रिय, ओलीसँग टाढीदै ईश्वर पोखरेल


काठमाडौँ – सत्तारुढ नेकपा एमालेभित्र दुबै पक्ष थप कदमलाई लिएर अन्योलमा रहँदा विवाद लम्बिदै गएको छ । माधव पक्ष नयाँ पार्टी दर्ता गरेर अघि बढ्न सकेको छैन भने ओली माधव पक्षका मागमा सकारात्मक छैनन । बरु महासचिव ईश्वर पोखरेलको नयाँ समीकरण बन्ने सम्भावना देखिएको छ ।

सत्तारुढ नेकपा एमालेको विवादले पार्टी विभाजनको अन्तिम कसरतमा रहेका बेला आइतबार बसेको माधव नेपाल पक्षको बैठकले प्रधानमन्त्रीसमेत रहेको पार्टी अध्यक्ष केपी शर्मा ओलीको चालबाजीपूर्ण भ्रममा नपर्न कार्यकर्तालाई अपिल ग¥यो । प्रधानमन्त्री ओलीले संकट बेला वार्ताको कार्ड फ्याक्ने र सुरक्षीत बन्नेभित्री चालबाजीलाई महसुश गरेको यो पक्षले अब उपरान्त लिखित रुपमै विश्वसनीय आधार नबनेसम्म वार्ता नगर्ने निष्कर्ष निकाल्दै १० बुँदे प्रस्ताव पारित गरेको छ । संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले फैसला नआएसम्म एमालेभित्र संघर्ष गर्ने वा वैकल्पिक पार्टी बनाएर अघि बढ्ने भन्नेमा माधव पक्षले निर्णय लिन नसक्दा एमालेको भावी दिशा नै अन्योलमा छ ।

प्रधानमन्त्री ओली संसद् पुनःस्थापना भए माधव पक्षलाई गरिएका कारबाही फिर्ता गर्ने र फकाएर आफु नै प्रधानमन्त्री हुने दाउमा छन् । यसकै लागि उनले स्पष्टिकरण सोधिएका थपलाई कारबाही गरेका छैनन् । तर माधव पक्षबाहेक पार्टीका महासचिव ईश्वर पोखरेलसमेत ओलीप्रति असन्तुष्ट बन्दै गएकाले एमालेभित्र थप संकट पर्ने देखिन्छ ।

ओली नेतृत्वको सरकार गठन भएदेखि नै उपप्रधानमन्त्रीको जिम्मेवारीमा रहेका पोखरेललाई शुक्रबार अपदस्थ गरियो । सरकारमा हुँदा रक्षा मन्त्रालयसमेत खोसेर उपप्रधानमन्त्रीमा मात्रै सीमित राखेर वेवास्ता गरिएका पोखरेललाई तत्कालिन नेकपामा समेत ओलीले उपेक्षा नै गरेका थिए ।

एमालेका निर्वाचित महासचिवलाई पन्छाएर विष्णु पौडेललाई जिम्मेवारी दिएपछि पोखरेलमा कुण्ठा पैदा भएको तथ्य मन्त्रीबाट मुक्त भएपछि आइतबार सार्वजनिक गरेको उनको भनाईमा प्रष्ट झल्किएको छ । एमालेको महासचिवमा फर्किसकेपछि पनि माइन्युट लेख्ने उनको जिम्मेवारी खोसेर ओलीले आफ्ना मुख्य सल्लाहकार विष्णु रिमाल र सचिव प्रदीप ज्ञवालीलाई दिएका थिए । यसरी पद पाएर पनि गुमराहमा रहेका पोखरेल ओलीबाट टाढीदै गएकाले एमालेको समीकरणमा फरक ढंगले प्रस्तुत हुने संकेत देखिन थालेको छ । किनकी यसअघि पनि पोखरेल एमाले एकताको पक्षमा उभिएका थिएनन् ।

एमाले विवाद समाधानका लागि प्रधानमन्त्री ओलीले नचाँहदासम्म कुनै कोर्ष परिवर्तनको सम्भावना छैन । सत्तालिप्साको कठोरमा बाटोमा अघि बढेका ओली शक्ति बाँडफाँड गरेर माधव पक्षलाई फकाउन पनि चाहदैनन् । त्यसैले एमाले विभाजन र एकताका लागि ओलीबाहेकको अर्काे शक्ति निर्णायक देखिदैन ।