राजनीति

ओलीका रंगीविरंगी मन्त्री,देश टुक्र्याउनेदेखि उपमेयर हारेकासम्म (भिडियोसहित)

गत स्थानीय तहको चुनावमा टोखा नगरपालिकाको उपमेयरमा पराजित भएकी रेनुका गुरुङ समेत राज्यमन्त्री भएकी छिन् ।


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गरेको व्यापक मन्त्रीमण्डल हेरफेरमा विगत विवादित बनेर पद गएकादेखि उपमेयरमा हारेकासम्म छन् । सत्ता सौदाबाजीका लागि हदैसम्म जानसक्ने ओलीले केही दुधालु मन्त्री भने आफैसंग राखेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गरेको व्यापक मन्त्रीमण्डल फेरबदलमा आम मानिसले चिनेका अनुहार खासै छैनन् । बरु विवादित भएर जागिर गुमेका मन्त्रीहरु भने दोहोरिएका छन् । नवनियुक्त उर्जामन्त्री शरतसिंह भण्डारी २०६८ ताका रक्षामन्त्री थिए । रक्षामन्त्री भएकै बेला मधेशका २२ जिल्लालाई छुट्टै राज्य हुनबाट कसैले रोक्न नसक्ने घोषणा गर्दा उनको पद गयो ।

मधेशका जिल्ला छुट्याएर राष्ट्रियता विखण्डन गर्ने उनको यो दम्भपूर्ण अभिव्यक्तिलाई लिएर देशभर विरोध भएपछि तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भण्डारीलाई बर्खास्त गर्ने तयारी गरेकै बेला राजीनामा दिएका थिए । उनै विखण्डकारी योजनाकार अहिले पुनः उर्जामन्त्री बनेका छन । पञ्चायतकालदेखि ओली सरकारसम्म आईपुग्दा उनी १५ औं पटक मन्त्री बन्ने भाग्यशाली पात्र हुन् । आफुलाई मधेश आन्दोलनका मशिहा ठान्ने राजेन्द्र महतो पनि उस्तै विवादित पात्र हुन् । आफ्नै बाउलाई नागरिकता दिने चर्चित राजनीतिज्ञ महतो २०१५ मा सर्लाहीमा जन्मीएका जन्मसिद्ध नागरिक हुन् । यसअघि प्रधानमन्त्री ओलीको कटु आलोचक मानिदै आएका महतो उपप्रधान तथा शहरी विकासमन्त्री बनेका छन् । तर मन्त्रीको सपथ खाए लगत्तै पुनः बहुल राष्ट्रिय राज्यको कुरा उठाएर महतोले आफ्नो असली अनुहार देखाएका छन् ।

ओलीको कृपाले मन्त्री दान पाएका चर्चित जोडीहरु पनि सरकार गएका छन् । कसैले नेताको जोडी आलोपालो त कुनैको जोडी केन्द्र र प्रदेशमा समेत संगै मन्त्री बनेका छन् । शुक्रबार ईश्वर पोखरेललाई अपदस्थ गरेर ओलीले रघुवीर महासेठलाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाए । त्यही दिन महासेठ पत्नी जुलीकुमारी महतोले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट हात धोएर पतिलाई मौका दिईन । श्रीमानको मन्त्रीमा इन भयो भने श्रीमतीको आउट । यसअघि भौतिक पूर्वाधार मन्त्रालयमा हुँदा सिण्डीकेट र कमिसनको चक्करमा सामेल भन्दै ओलीले निकालेका मन्त्री रघुवीर महासेठ डेढ वर्षपछि सरकारमा फर्किंदा झन् शक्तिशाली भएका छन् ।
त्यस्तै अर्का चर्चित जोडी हुन् शेरबहादुर तामाङ र उषाकला राई । ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड माधवको कित्तामा पुगेका तामाङ दाम्पतीलाई मन्त्रीको हरियो घाँस देखाईदिएपछि फर्किएका थिए । त्यस लगत्तै तामाङ पत्नी राईले चैत १३ गते प्रदेश १ को सामाजिक विकास मन्त्रीमा नियुक्ती पाइन । तामाङ पार्टी कार्यालय सचिव हुँदै शुक्रबार स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा आएका छन् । यसअघिका स्वास्थ्यमन्त्री हृयदेश त्रिपाठीले खोप प्रकरणमा प्रधानमन्त्री वरीपरीकै मानिसले कमिशन खान खोज्दा अवरोध गरेका थिए । उनकै ठाउँमा तामाङलाई स्वास्थ्यमन्त्री बनाईएको हो ।

यस्तै एक अर्का जोडी छन् नवनियुक्त खानेपानी मन्त्री अनिल झा र उनकी पत्नी डीम्पलकुमारी झा । विराटनगर जुटमिल्स जाँचबुझ आयोगले भ्रष्टाचार ठहर गरेर मुद्धा चलाउन सिफारिस गरेका झा आफुमात्रै मन्त्री बनेनन् श्रीमतीलाई यसअघि नै प्रदेश २ को भौतिक पूर्वाधार राज्यमन्त्री बनाएका छन् । उसो त प्रधानमन्त्री ओलीले मन्त्री बनाएकाहरु मध्य नेपालीसंग विवाह गरेकी भारतीय चेली चन्दा चौधरीसमेत महिला बालबालिका मन्त्री भएकी छन् । उनी अंगीकृत नागरिकताधारी हुन् । त्यसबाहेक गत स्थानीय तहको चुनावमा टोखा नगरपालिकाको उपमेयरमा पराजित भएकी रेनुका गुरुङ समेत राज्यमन्त्री भएकी छिन् । प्रतिद्धन्द्धीले ८ हजार ९८ मत ल्याउदा यीनले जम्माजम्मी ९९ मत ल्याएकी थिइन् । लज्जाजनक मत ल्याएर हारेकी यीनि पछि कसो कसो गरि समानुपातिक सांसद बनेकी थिइन । अधिकांश मन्त्रीको हुलिया र अनुभव हेर्दा राजनीतिक सौदाबाजीकै आधारमा साटफेर गरेको स्पष्ट झल्किन्छ ।

प्रधानमन्त्री ओलीले एमाले विवाद उत्कर्षमा पुगेका बेला माधव पक्षका नेतालाई तान्न रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग र सामान्य प्रशासन मन्त्रालय आफैंसँग राखेर पल्काउन खोजेको अनुमान लगाउन सकिन्छ ।