राजनीति

सरकारले घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म गरिरहेको छ : विपक्षी पाँच दल


काठमाडौँ – सरकारले घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म गरिरहेको विपक्षी पाँच दलले आरोप लगाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले शनिबार साँझ संयुक्त वक्तव्य सार्वजनिक गर्दै सरकारले घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म गरिरहेको आरोप लगाएको हो ।

बजेटमार्फत सरकारले ढुंगा, बालुवा र गिटीको निकासी गर्न चुरे क्षेत्र लगायतको उत्खनन् गर्न दिने घोषणाले तराई क्षेत्रलाई मरुभूमिकरण गर्ने र त्यहाँका वासिन्दाहरूलाई बाढी, डुवान र पानीको स्रोत सुक्ने समस्यामा पार्दै जनजीवनलाई जोखिमयुक्त बनाएर राष्ट्रघाती र जनघाती घोषणा गरेको विपक्षी गठबन्धनको आरोप छ ।

बजेट घाटा पूर्ति गर्ने भ्रम छर्दै सरकारले घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म भएको निष्कर्ष निकाल्दै विपक्षी गठबन्धनले सत्ता टिकाउनका लागि राष्ट्रिय स्रोतलाई निहित स्वार्थ साधनका लागि दुरुपयोग गर्ने राष्ट्रहित विरोधी निर्णय भएकाले तत्काल खारेज गर्न माग गरेका छन् ।

यस्तै, विपक्षी गठबन्धनले बजेटमार्फत आयोडिनयुक्त नूनको आयातमा कसैलाई फाइदा पुर्याउने तथा कमिशन र नाफाखोरीलाई प्रश्रय दिने मनशानयबाट निर्णय भएको निष्कर्ष निकाल्दै तत्काल फिर्ता लिन माग गरेको छ । गठबन्धनले निश्चित व्यक्तिलाई नूनको जिम्मा दिने निर्णयले जनताले सर्वसुलभ पाइरहेको नूनको भाउ बढ्ने उनीहरूले जनाएका छन् ।

विपक्षी पाँच दलको वक्तव्य – ‘सरकारले घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म गरिरहेको छ’