राजनीति

प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त


काठमाडौँ – नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठको ८४ वर्षको उमेरमा निधन भएको छ। उनको शनिबार बिहान ८ बजे काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनको निधनप्रति कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्। ‘कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याउनुभएको सक्रिय योगदान सदा स्मरणीय छ,’ सभापति देउवाले शोक विज्ञप्तिमा भनेका छन्, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।’


नेपाली कांग्रेस चितवनका सल्लाहकार समितिका संयोजकसमेत रहेका स्व श्रेष्ठ कांग्रेसमा एक सरल र निष्ठावान् नेताका रुपमा चिनिन्थे । उनले कांग्रेसका संस्थापक नेता विपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंहलगायत शीर्ष नेतासँगको सहयात्रीका रुपमा रहेर श्रेष्ठले प्रजातन्त्र प्राप्तिका लागि भएका सङ्घर्ष र आन्दोलनमा सक्रिय योगदान पुर्‍याएक थिए ।


नेपालमा प्रजातन्त्र प्राप्तिका लागि भएका संघर्ष र आन्दोलनहरुमा सक्रिय योगदान पुर्‍याएका उनी लामो समय प्रवासमा बस्नुका साथै जेलजीवनसमेत व्यतीत गरेका थिए। तत्कालीन पञ्चायती व्यवस्थाले उनको सर्वश्वहरण गरेको थियो।