समाचार

नेपाल–भारत सीमा नाकामा झडप, एक सशस्त्रसहित आठ भारतीय घाइते


काठमाडौँ – महोत्तरी जिल्लाको नेपाल र भारतको सीमानाकामा प्रहरी र भारतीय व्यापारीबीच झडप हुँदा एक सशस्त्रसहित आठ व्यापारी घाइते भएका छन् । झडपमा मटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोभिड–१९ परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरूले तोडफोड गरी हटाएका छन् ।

बोर्डर आउट पोष्ट (बिओपी) मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार गए राति करिब ८ बजे ५०–६० भारतीयले मदिरा खाएर एक्कासि बोर्डरमा खटिएका प्रहरीहरूमाथि करीब आधा घण्टासम्म ढुङ्गामुढा गरेका थिए । ढुङ्गामुढाबाट ड्युटीमा खटेका सशस्त्र प्रहरी जवान विवेक ढकालको टाउको फुटेको छ भने उनले लगाएको पोशाकसमेत च्यातिदिएका छन् ।

भारतीय व्यापारीका अनुसार भने बिओपी मटिहानीका प्रहरी निरीक्षक गौतमले पहिले आफूहरूसँग मोटो रकम लिएर तस्करी गर्ने इजाजत (लाइन) दिएका थिए । तर गएराति भने भारतबाट आलु, प्याज, चामललगायतका वस्तुहरू नेपाल ल्याउन शुरु गरेको र सीमामा रोकी थप रकम माग्दा नदिएपछि आफूहरुमाथि कुटपिट र लाठी चार्ज गरेका बताएका छन् ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार सशस्त्र प्रहरीले बल प्रयोग गरेको र भारतीय व्यापारीहरूलाई कुटपिट गर्न थालेपछि भारततर्फबाट एक हुल मानिस आएर सशस्त्र प्रहरीमाथि पनि ढुङ्गामुढा गरेको बताएका छन् ।