कोरोना विशेष

तराईका अस्पतालमा अक्सिजन तथा भेन्टिलेटर सहितको बेडको चरम अभाव(भिडियोसहित)


काठमाडौँ – सरकारले देशभरका अस्पतालमा अक्सिजन र भेन्टिलेटर सहितको बेडको कुनै अभाव नभएको दाबी गरेपनि वास्तविकता भने फरक पाइएको छ । तराईका कतिपय अस्पतालमा अक्सिजन तथा भेन्टिलेटर सहितको बेडको अभावका कारण संक्रमितहरु अकालमै ज्यान गुमाउन बाध्य भएका छन् ।

कोरोना संक्रमणको हटस्पट बनेको सर्लाहीमा अक्सिजन तथा भेन्टिलेटर सहितको बेडको अभाव देखिएको छ । सदरमुकाम मलंगवा स्थित सर्लाही अस्पतालको आईसुलेशन कक्षमा अहिले ८ जना बिरामीहरु उपचारार्थ रहेका छन् । अक्सिजनको अभावमा उनीहरूको अवस्था जुनसुकै बेला खराब हुन सक्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

दैनिक १० वटा अक्सिजन सिलिन्डरको खपत हुँदै आएकोमा अस्पतालसँग अहिले १४ वटा सिलिन्डरहरु मात्र रहेका छन् । थप सिलिन्डरको लागि पहल गर्दा समेत कतैबाट उपलब्ध हुन नसकेपछि नयाँ बिरामीहरूलाई भर्ती नगरी अन्यत्र रिफर गर्नुपरेको सर्लाही अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.संजिव सिंहले बताएका छन् । अक्सिजनको अभावमा पहिलादेखि भर्ती रहेका संक्रमितहरूको ज्यान बचाउन समस्या भईरहेको उनको भनाई छ ।

प्रदेश न–२ सरकारले जिल्ला अस्पताल मलंगवालाई अक्सिजन खरिदको लागि ५ लाख रुपैयाँ र अटोेमेटिक अक्सिजन प्लान्ट निर्माणका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गरि सकेको भएपनि हालसम्म चालु हुन नसकेको उनले बताए । सर्लाही जिल्लामा अहिले संक्रमितहरुको संख्यासँगै मृत्युदर पनि बढ्दै गइरहेको छ । यसले यहाँको अवस्था भयावह हुँदै गएको देखिन्छ । अस्पतालमा अहिले कोरोना भाईरस संक्रमितको उपचारमा अतिआवश्यक रहेका रेमडीसिविर, आईभरमेटिन, एजिथ्रो माइसिन र डक्सीसाइक्लिन जस्ता औषधीहरुको समेत अभाव रहेको छ ।

हुने खानेहरु आफ्ना बिरामीलाई उपचारका लागि बिरगंज, जनकपुर, काठमाडौ लगायतका ठूला शहरका अस्पतालमा लगिरहेका छन् । तर, गरीब, असहाय परिवारहरु भने सर्लाही अस्पतालमै उपचार गराउन बाध्य छन् । २० वटा पालिकाहरु रहेको सर्लाही जिल्लामा केही पालिकाहरूले मात्र क्वारेन्टाइन सेन्टरको निर्माण गरेका छन् । अहिले जिल्लामा कोरोना सम्बन्धि उपचारको लागि १९० बेड र १४७ वटा अक्सिजन सिलिन्डर सहितको ९ वटा अस्पतालहरु संचालनमा रहेका छन् ।