देश

ओली–माधवबीच कुरा मिलेन, माधव पक्षले बादललाई भोट नदिने, कस्ले मार्ला बाजी ?(भिडियोसहित)


काठमाडौँ – बाग्मती प्रदेशको राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि बिहीवार उपनिर्वाचन हुदैँछ । तर कसलाई मत दिने भन्ने विषयमा एमालेभित्र एकमत देखिदैन । जसले एमाले एक्लैको बहुमत रहेको बागमतीमा मत बाँडिने आँकलन गरिएको छ ।

सत्तारुढ दल नेकपा एमालेले उम्मेद्वार बनाएका गृहमन्त्री रामबहादुर थापा बादल विहिबार हुने निर्वाचनका लागि बुधबार हेटौँडा पुगे । एमालेकै माधव नेपाल पक्ष, नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका डा. खिमलाल देवकोटा मंगलबारदेखि हेटौँडामै छन् ।

विहिबार हुने निर्वाचनमा यी दुईको मुख्य भिडन्त त हुने नै छ । एमालेको ओली र माधव पक्षबीच पनि भिडन्त हुने निश्चित बनेको छ । किनकि मतदानको अघिल्लो दिनसम्म सिङगो एमालेको मत गृहमन्त्री बादललाई जाने अवस्था बनेको छैन । यसैले माधव पक्षका प्रदेश सभा सदस्यहरु बादललाई मत नदिने बताउँछन् ।

मंगलबार गृहमन्त्री बादलले वरिष्ठ नेता नेपालको निवास कोटेश्वरमै पुगेर आफुलाई सघाउन आग्रह गरेका थिए । तर नेपालले बचन दिएनन् । किनकि माधव नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काउने सहमती भएपछि बादलको उम्मेद्वारीलाई अवैध जस्तै मानेको छ । यद्यपी बुधबार प्रधानमन्त्री ओलीले मौन अवधिकै अवज्ञा गर्दै एमालेका उम्मेद्वार बादललाई मत दिन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

यता माधव पक्षले पनि आफैले उठाएका उम्मेद्वार देवकोटालाई मत दिन सर्कुलर जारी गरेको छ । यसर्थ विहिबारको चुनावमा एमाले एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुनेछ भने यसकै कारण सहमती खोज्दै गरेको एमालेमा विग्रह हुने संकेत पनि देखिन्छ । एमाले विवाद समाधानका लागि कार्यदल बनेको छ । तर कार्यदलले हालसम्म कसलाई मत दिएर अघि बढ्ने भन्ने निक्र्याेल गर्न नसक्दा पनि समस्या देखिएको हो ।

अझ माधव पक्षका नेताहरुले पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच समझदारी हुन नसक्दा अलमलकै अवस्थामा देवकोटालाई मत दिने तयारी गरेको बताउँछन् । यसले एमालेको मत बाँडिने पक्का भएको छ । किनकि विपक्षमा ४ हजार ४ सय ५२ मतभार मात्रै रहेको बागमती प्रदेशमा एमाले एक्लैको मतभार ५ हजार १ सय ३० छ ।

जसमा माधव नेपाल पक्षको एक हजार ७ सय ४० मतभार छ । जुन थापालाई हराउन प्रर्याप्त हुनेछ । एमालेका १३३ स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये माधव पक्षका ३८ जना छन् । ५७ जना प्रदेश सदस्यमध्ये २२ माधवतिरका छन् । विहिबार हुने निर्वाचनमा माधव पक्षले जसलाई मत दिन्छ उहीँ नै निर्वाचित हुने पक्कापक्की छ ।