राजनीति

गण्डकी मन्त्रिपरिषद् पहिलो बैठक : ३ मन्त्रालय थपिँदै


काठमाडौँ – बुधवार गण्डकी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ। पुनः नियुक्त भएका मन्त्रीहरुले शपथ खाएलगत्तै मन्त्रिपरिषद् बैठक बसेको हो । आज बसेको बैठकले प्रदेश सरकारको कार्य विभाजन नियमावली २०७४ लाई संशोधन गरेको छ ।

प्रदेशमा विस्तार भएको नयाँ मन्त्रीमण्डलको पहिलो बैठकले सरकारको प्रवक्तामा रामशरण बस्नेतलाई नै राखेको छ । बस्नेतका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोभिड अस्पताल बनाउन संघ सरकारलाई सिफरिस गर्ने निर्णय भएको छ । यस्तै बैठकले मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा लमजुङका डा. भ‍ीष्म अधिकारी र योजना आयोगका उपाध्यक्षमा डा. गिरधारी शर्मा पौडेल र सदस्यमा विष्णु बराल नियुक्त गरेको छ।

बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद विस्तार गरेपछि आज अपराह्न ३ बजे प्रदेश प्रमुख सीताकुमारी पौडेलले निवासमा नवनियुक्त चार मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको थियो । प्रदेश सरकारले थप ३ मन्त्रालय थपेर प्रदेशमा ११ मन्त्रालय बनाउँदै छ।

सामाजिक विकास मन्त्रालयलाई टुक्र्याएर स्वास्थ्य मन्त्रालय बनाउन लागिएको हो । यस्तै, भौतिक पूर्वाधार विकास र उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालायलाई पनि टुक्राइने भएको छ ।