राजनीति

मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत : निर्वाचन आयोग

आचारसंहिता उल्लंघन गर्नेको अभिलेख राखेका छौं, कारवाही हुन्छ


काठमाडौँ – निर्वाचन आयोगले आचारसंहिता विपरीत राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधिमा मत माग्दै जारी भएका विज्ञप्ति र समाचार सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार विज्ञप्ति जारी गरेर एमाले उम्मेदवार रामबहादुर थापा बादलको पक्षमा मत मागेकाले आयोगले यस विषयमा चासो देखाएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरूले आचारसंहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरूले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरू प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरूको अन्तरवार्ता लिने जस्ता गतिविधिहरू गरेको देखिएकोले यसतर्फ आयोगको गम्भीररूपमा ध्यानाकर्षण भएको छ ।’

वाग्मती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि जेठ ३ गते राति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ । निर्वाचन आचार संहिताअनुसार मौन अवधिमा उम्मेदवारको पक्षमा मत माग्नु आचारसंहिता विपरीत हुन्छ ।

साथै निर्वाचन आचार संहिता विपरीतका कार्य गर्ने व्यक्ति वा संस्थालाई आयोगले कानून बमोजिम कारवाही गर्न सक्ने कुरा प्रष्ट गर्दै यसरी आचारसंहिता विपरीत कार्य गर्नेको अभिलेख समेत राख्ने श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।