मौसम

कोरोना कहरसँगै भारतमा शक्तिशाली चक्रवातको प्रभाव, हालसम्म १८ जनाको मृत्यु, नेपालमा समेत अप्रत्यक्ष असर सुरु (भिडियोसहित)


काठमाडौँ – कोरोना भाइरस संक्रमणबाट हाल विश्वमा सबैभन्दा आक्रान्त बनेको भारतमा फेरि अर्को संकट देखा परेको छ । भारतका पश्चिमी राज्यमा ताउ–ते नामको अति शक्तिशाली चक्रवातले ठूलो असर पारिरहेका बेला त्यसको प्रभाव नेपालमा समेत पर्न थालेको छ । महामारीबाट आक्रान्त बनेको भारतले यतिबेला अरब सागरमा विकसित ताउ–ते नामको अति शक्तिशाली चक्रवातको पनि सामना गर्नु परेको छ ।

महामारीबाट लाखौले ज्यान गुमाइसकेका भारतीयहरु फेरिपनि आँधी र त्यसको प्रभावका कारण भएको वर्षाले हालसम्म १८ जनाको मृत्यु भइसकेको छ भने, सयौं घाइते भएका छन् । विशेषगरी, भारतका कर्नाटक, गोवा, केरला र महाराष्ट्र राज्यमा मानवीय क्षति बढी भएको छ । चक्रवातको असर भारतका मुम्बईलगायत विभिन्न स्थानमा परेको छ । त्यहाँका सयौं रूख ढलेका छन् भने विभिन्न शहर जलमग्न भएका छन् । अस्पतालमा उपचाररत कोरोना संक्रमितहरूको बिचल्ली भएको छ ।

पूर्वीमध्य अरब सागरमा विकसित शक्तिशाली चक्रवात अर्थात सामुन्द्रिक आँधीको अप्रत्यक्ष असर नेपालमा समेत असर पर्न थालेको छ । सोमबार भारतको गुजरातको तटीय क्षेत्रमा प्रवेश गरी मुम्बईमा ताण्डव मच्चाएको आँधीको प्रभावका कारण मंगलबार बिहान नेपालमा बदली भएको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा बिहानै हल्का वर्षा भएको छ । जलवायुविद्का अनुसार नेपालमा आँधीको सोझै असर नपरे पनि शुक्रबारसम्म हल्कादेखि अतिभारी वर्षा र हिमाली क्षेत्रमा हुरीसहित हिमपातको सम्भावना रहेको छ ।

नेपालमा तीन दिनसम्म यसको असर देखिने विज्ञ बताउछन् । उच्च हिमाली क्षेत्रमा आरोहण गर्ने जाने व्यक्तिलाई रोक्नु पर्ने समेत जलवायुविद् बताउछन् । मौसम विज्ञका अनुसार नेपालमा सबै भन्दा बढि बुधबार र बिहिबार वर्षा र हावाहुरी चल्ने छ । शुक्रबारसम्म हल्कादेखि अतिभारी वर्षा र हिमाली क्षेत्रमा हुरीबताससहित हिमपातको सम्भावना रहेकोे कारण सर्तकता रहन आवश्यक छ ।