राजनीति

ओली–माधवको मध्यरातसम्म घनिभूत छलफल, प्रचण्डतिर गएका माधव फर्किएलान् ? कारबाही फिर्ताको तयारी

माधव नेपाल पक्षले वार्ता र लचकता देखाएपनि २०७५ जेठ २ मै पार्टीलाई फर्काउनुपर्ने बटमलाइनमा अडिग रहेकोले कुनै सहमतिको खाका तयार भएको छैन ।


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरिरहँदा बेला उनीविरुद्व विपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको एउटा धारले बलियो मोर्चाबन्दी कसेको छ । झन एमालेकै माधवकुमार नेपाल समुह समेत विपक्षीको मोर्चामा देखिएपछि प्रधानमन्त्री ओली दबाबमा परेका छन् ।

भुइँको टिप्न खोज्दा पोल्टाको रित्तिने अवस्था आएपछि प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला चर्को दबाबमा छन् । एमालेकै माधव नेपाल समूहले वैशाख २७ मा प्रधानमन्त्रीले विश्वासको मत लिनु अगाडि नै विपक्षी दलहरुको बहुमत पुग्ने गरी सांसदहरुको राजीनामा दिने तयारी गरेको छ । यसका साथै राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षसँग मिलेर साझा उम्मेदवार बनाएपछि ओली झस्किएका छन् । अन्ततः यही कारण ओली र उनी निकट नेताहरुको दौडधुप चलेको छ । माधव नेपाल पक्षका नेताहरुको कारवाही फिर्ता लिने र उनीहरुलाई फकाउने लाइनमा ओली आइपुगेको विहिबार मध्यरातसम्मको दौडधुपले प्रष्ट पार्छ ।

विहीबार साँझ बूढानीलकण्ठस्थित देउवा निवासमा पुगेका एमाले वरिष्ठ नेता माधव नेपाललाई बाटैबाट शीतलनिवासमा बोलाएर राष्ट्रपति विद्यादेवी भण्डारीले भेट गरिन । सरसर्ति हेर्दा अब एमाले विवाद मिलाउने जिम्मा राष्ट्रपतिको काँधमा परेको छ । माधव नेपाल र राष्ट्रपतिबीचको भेटलगत्तै फेरि प्रधानमन्त्री ओली शीतलनिवास पुगे । शीतलनिवासबाट फर्किएर माधव पक्षका नेता धनश्याम भुसाल र योगेश भट्टराईसंग मध्यरातसम्म वालुवाटारमा छलफल चल्यो । त्यसअघि नै अर्थमन्त्री विष्णु पौडेल भट्टराईसहित सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसंग भेट गरेका थिए । यद्यपी दौडधुपको ठोस उपलब्धी भने बाहिर आएको छैन । माधव नेपाल पक्षले वार्ता र लचकता देखाएपनि २०७५ जेठ २ मै पार्टीलाई फर्काउनुपर्ने बटमलाइनमा अडिग रहेकोले कुनै सहमतिको खाका तयार भएको छैन ।

प्रधानमन्त्री ओलीले माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिने कारवाही गरिसकेका छन् । थप २७ जना सांसदहरुलाई पनि स्पष्टीकरण सोधिएको छ । दबाबमा परेका ओलीले माधव नेपाल पक्षको साथ पाउन यी सबै कारबाही फिर्ता लिएर पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन तयार हुनुपर्नेछ । नत्र बैशाख २७ गतेलाई माधव नेपाल पक्षले विपक्षीलाई सघाउदै ओलीलाई हराउने उपयुक्त समय बनाउनेछ भने एमाले औपचारिक रुपमै विभाजनको दिशामा अगाडि बढ्ने देखिन्छ ।