कोरोना विशेष

अस्पतालमा बेड खोज्दा खोज्दै वडा सदस्यको मृत्यु


काठमाडौँ – बुटवलका एक वडा सदस्यले अस्पतालमा बेड खोज्दाखोज्दै एम्बुलेन्समै ज्यान गुमाएका छन् । बुटवल उपमहानगरपालिका-७ का ४४ वर्षीय वडा सदस्य नवीन थापामगरको अस्पतालमा बेड खोज्दाखोज्दै एम्बुलेन्समै मृत्यु भएको हो । नगरप्रमुख शिवराज सुवेदीका स्वकीय सचिव मेघराज भट्टराईका अनुसार थापालाई एम्बुलेन्समा राखेर अस्पताल चहार्दाचहार्दै बेड नपाएर एम्बुलेन्समै उनको मृत्यु भएको हो ।

थापालाई एक हप्ता अघि कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालमा बेड नपाउँदा होम आइसोलेसनमा बस्दै आएका थिए । बिहीबार स्वास्थ्यमा थप समस्या आएपछि उनलाई क्रिमसन अस्पताल मणिग्राम पुर्‍याइएको थियो । तर अस्पतालले आईसीयू र भेन्टिलेटर खाली नभएको बताएपछि एम्बुलेन्समा राखेर थापालाई भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेज पुर्‍याइएको थियो ।