विदेश

एयर एम्बुलेन्सको पाङ्ग्रा भाँचिएपछि मुम्बईमा आकस्मिक अवतरण


काठमाडौँ – भारतको मुम्बईमा एक एयर एम्बुलेन्स आकस्मिक अवतरण गरेको छ । नागपुरबाट उडान भरेपछि पाङ्ग्रा भाँचिएको एयर एम्बुलेन्स विहीबार राति मुम्बई एयरपोर्टमा आकस्मिक अवतरण गरेको हो ।

एयर एम्बुलेन्समा दुईजना क्रू मेम्बर, एकजना बिरामी, बिरामीका एकजना आफन्त र एकजना डाक्टर थिए ।

स्थानीय प्रशासनका अनुसार सो हवाईजहाज नागपुरबाट हैदरावाद जाँदै थियो । प्राविधिक समस्या आएपछि क्याप्टेनले फूल इमरजेन्सी घोषणा गरेका थिए ।
सो जहाजलाई बिहीबार राति भारतीय समयअनुसार ९ बजेर ९ मिनेटमा मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा बेली–ल्याण्डिङ गराइएको थियो । नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले यस घटनाको जानकारी ट्वीटरमार्फत् दिएका छन् ।