राजनीति

बुढानीलकण्ठमा देउवा र नेपालबीच भेटवार्ता


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सभापति देउवा निवास बुढानिलकण्ठमा बिहीबार अपराह्न भएको भेटवार्ता भएको हो।

स्रोतका अनुसार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना ६ विश्वासपात्रसहित हिजो मात्रै देउवासँग छलफल गरेका थिए ।

अल्पमतमा पर्ने थाहा हुँदाहुँदै पनि विश्वासको मत माग्न संसद् छिर्न लागेका ओलीको कदमले विपक्षीलाई सशंकित पनि बनाएको छ । किनकि विश्वासको मत संसद्को नियमित अधिवेशनमार्फत पनि माग्न सकिन्थ्यो । तर ओलीले नियमित अधिवेशन नबोलाएर विशेष अधिवेशन आह्वान गरेका छन् । ओलीले बजेट र आफ्नो योजनामा रहेको आगामी चुनावलाई केन्द्रित गर्दै विश्वासको मत लिन संसद्मा जाने निधो गरेका हुन् । ओली आफुले विश्वासको मत नपाए विपक्षीहरुको गठबन्धन पनि बन्न नदिने विकल्पका साथ अघि बढेका छन् ।

ओलीलाई सत्ताच्युत गर्न हरसम्भव उपाय अपनाउन तयार भएका विपक्षी दलहरुले ओलीले चाल्नसक्ने सम्भावित कदमलाई रोक्न अविश्वासको प्रस्ताव सबैभन्दा बलियो हतियार हुने ठानेका छन् । तर कांग्रेस, माओवादी र जसपाको सिङगै टीम नमिली अविश्वासको प्रस्ताव पास हुन सक्दैन ।

यता ओलीलाई जसपाको महन्थ ठाकुर समुहले साथ दिएपनि आफ्नै पार्टीको माधव पक्षले साथ नदिए पद जाने अवस्था आउने छ । त्यसले गोलचक्करमा फसेको संसदीय अंकगणितको वैशाख २७ निर्णायक रहनेछ ।