कोरोना विशेष

प्रधानमन्त्रीको मिठो बोली तितो व्यवहार, जनता महामारीले हायलकायल हुँदा पनि सरकार अझै जागेन । मिठो बोली तितो व्यवहार (भिडियोसहित)


काठमाडौँ – कोरोना संक्रमण र निषेधाज्ञाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले जीवन गुमाउनु पर्ने स्थिति आउन नदिने रटान लगाउँदै आएका छन् । तर, कोरोना संक्रमितले अक्सिजनसहितको अस्पताल नपाउँदा ज्यान गुमाइरहेको तीतो यथार्थ हाम्रा अगाडी छ । यता विज्ञ पनि सरकारको कामप्रति सन्तृष्ट छैनन् ।

सोमबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई दिएको आश्वासन हो यो । यतिबेला कोरोना संक्रमणको त्रासका कारण काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा निषेधाज्ञा जारी छ । कोरोना भाइरस संक्रमित र मृतकको संख्या दिनदिनै बढिरहेको छ । एक हप्तामा कोरोना संक्रमणबाट १८५ जनाले ज्यान गुमाइसकेका छन् । विभिन्न जिल्लामा सिकिस्त भएका विरामीलाई काठमाडौंमा उपचार गर्न ल्याउन चाहने धेरै छन् । तर, काठमाडौंमा अक्सिजन, आइसीयू र भेन्टिलेटर अभाव छ । अस्पतालहरु भरिभराउ छन् । विरामीहरु ठाउँ नपाएर छट्पटइरहेका छन् । कोरोना संक्रमितले अक्सिजनसहितको अस्पताल नपाउँदा ज्यान गुमाउनुको पीडा छ । तर चिल्ला मिठा भाषण गर्न र विरोधीलाई छेड हान्न माहिर प्रधानमन्त्री ओलीले दिएका आश्वासन पटकपटक व्यर्थ सावित हुँदै आएका छन् । प्रधानमन्त्रीको भनाइ र गराइप्रति नागरिक मात्र होइन स्वास्थ्य विज्ञहरु पनि सन्तुष्ट छैनन् ।

कोरोना संक्रमणका कारण मानिस रोगबाट पीडामा परेका छन् नै, जारी निषेधाज्ञाबाट सिर्जित भोकका कारण पनि ज्यान गुमाउने अवस्था आउन सक्छ । तर सरकार भने जनताको पक्षमा काम गरिरहेको दाबी गर्छ । प्रधानमन्त्रीको काम भाषणमा देखिए पनि व्यावहारिक रूपमा परिणाम नदेखिँदा जनअसन्तुष्टि बढिरहेको छ ।