कोरोना विशेष

निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ४२ पुग्यो


काठमाडौँ – कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ४२ पुगेको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले ३१ जिल्लामा पूर्ण र ११ जिल्लामा निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञा जारी गरेका हुन् । कोरोना संक्रमण फैलिदै गएपछि स्थानीय प्रशासनले धमाधम निषेधाज्ञा जारी गर्न थालेका छन् । आज बिहानदेखि बर्दियामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । यसअघि ठाउँ विशेषमा निषेधाज्ञा जारी गरिए पनि आज बिहान ६ बजेदेखि ३१ गते बिहान ६ बजेसम्म पूर्णरुपमा निषेधाज्ञा लागू भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । बझाङमा र बैतडीमा आज बिहानैदेखि निषेधाज्ञा लागू भएको छ । अर्घाखाँचीमा आजराति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।