कोरोना विशेष

रेम्डेसिभिर नभए कोरोना संक्रमितको उपचार नै रोकिन्छ ? (भिडियोसहित)


काठमाडौँ – कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गरिदै आएको औषधी रेम्डेसिभिरको माग अहिले अत्याधिक बढ्दो छ । मागअनुसार उपलव्ध नहुँदा औषधीको कालोबजारी समेत हुन गरेको छ । त्यसैले सरकार आफैले यो औषधि उपलब्ध गराउँदै आएको छ । यो औषधी किन महत्वपूर्ण छ ? यस्को अभावमा उपचार नै प्रभावित हुने हो त ?

कोभिड १९ कै लागि भनेर हालसम्म संसारमा कुनै औषधि उपलब्ध छैन । तर यो रोग लागेपछि बिरामीको शरिरलाई सहज हुने र रोगसँग लड्न सघाउ पुग्ने गरी चिकित्सकहरुले केही विधि र औषधिहरु दिने गर्छन् । संक्रमितलाई सास फेर्न गाह्रो हुँदा अक्सिजन र भेन्टिलेटर, कोरोनाविरुद्ध लड्न सघाउने प्लाज्मा र रेम्डेसिभिर नामक औषधी औषधि दिने गरिन्छ । कोरोनाभाइरसको विश्वव्यापी महामारी सुरु भएपछि यसविरुद्ध प्रयोग गर्न सकिने पहिलो औषधिको रूपमा रेम्डेसिभिरको उपयोगिता पत्ता लागेको थियो । विभिन्न देशमा कोरोनाको उपचारमा प्रयोग भएको यो एन्टीभाइरल औषधि अमेरिकाका पूर्व राष्ट्रपती डोनाल्ड ट्रम्पले समेत लिएका थिए । अमेरिकामा गरिएका परीक्षणमा यसमा कोरोनाभाइरस सङ्क्रमणबाट निको पार्ने क्षमता भएको स्पष्ट आधार पाइएको अमेरिकी अधिकारीहरूले बताएका थिए । विश्वभरि अस्पतालहरूमा रेम्डेसिभिर प्रयोग गर्दा बिरामीमा कोरोनाभाइरस सङ्क्रमण भएपछि विकसित लक्षणहरू हराउने समय १५ दिनबाट ११ दिनमा झरेको देखिएको दाबी गरिएको थियो । परिणामत ईबोलाको उपचारका लागि विकास गरिएको यो औषधीको विश्वभर माग बढ्यो । फलत यस्को कालोबजारी यति बढ्यो कि त्यसलाई रोक्न निजि क्षेत्रलाई यस्को विक्रिवितरणमा रोक लगाईयो ।

भाइरसलाई बढ्न चाहिने एन्जाइमलाई निष्क्रिय बनाउने यो औषधी कुनै खोप नभएर एन्टी भाइरल औषधि हो । कोरोनाका गम्भीर बिरामीहरुलाई दिँदा केहीमा राम्रो नतिजा देखिएपछि यसको प्रयोग बढ्दो छ । तर विश्व स्वास्थ्य संगठनले भने रेम्डेसिभिरलाई मान्यता दिएको छैन । स्वास्थ्य मन्त्रालयले समेत यो औषधी कोरोनको अचुक औषधी नभएको भन्दै चिकित्सको सल्लाहमा औषधीको तर्कसंगत प्रयोग गर्न आग्रह गरेको छ भने चिकित्सकहरु समेत रेम्डेसिभिर कोरोना उपचारमा मुख्य औषधी नभएको बताउछन् । निमोनियासँगै कोरोना देखिएकाहरुको उपचारमा प्रयोग भईरहेको यो औषधी बिरामीका लागि कति लाभदायक हुन्छ भन्ने अझै प्रमाणित नभएको चिकित्सकहरुको भनाइ छ ।

कोरोनाका गम्भिर विरामीको ज्यान जोगाइरहेको कतिपयको दाबी कै कारण रेम्डेशिबिरको माग उच्च छ । गत हप्ता नेपाल समेत अभाव देखिएको यो औषधी अहिले बंगलादेशबाट आयात भएपछि केहि सहज भएपनि भारत लगायतका देशमा समेत उच्च माग रहेकोले फेरी अभाव हुन सक्ने देखिन्छ । तर चिकित्सकहरु भने अक्सिजन अभाव र कोरोना उपचारमा प्रयोग हुने अन्य औषधीको अभाव नभएकोले रेम्डेसिभिर नपाँउदैमा आत्तिन नपर्ने सुझाव दिन्छन ।