कोरोना विशेष

यत्ति भएपछि प्रधानमन्त्री ओलीलाई गफाडी किन नभन्ने ? तीन महिने खोप योजना एकादेशको कथा

मानिसहरु मलाई खोप देउ भन्दै ५/६ घण्टासम्म लाइन बस्दा पनि खोप पाइरहेका छैनन् ।


काठमाडौँ – कोरोना संक्रमण दिनप्रतिदिन फैलँदो छ भन्ने जान्दा जान्दै नेपाल सरकारले खोप अभियान बन्द गरेर हात बाँधेर बसेको छ । कोरोनाविरुद्ध आक्रामक कदम नचाल्ने बरु जनतालाई घरभित्र थन्क्याउने योजनाले सरकार लापरवाहीको हद पार गरिरहेको देखिन्छ ।
गत माघ १४ गते नेपालमा कोरोनाको खोप अभियान सुरु गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अब तीन महिनाभित्र हरेक नेपालीलाई खोप लगाइसक्ने प्रतिवद्धता जनाएका थिए । पूर्ण आत्मविश्वासका साथ प्रधानमन्त्री ओलीले यसो भनेका थिए ।

प्रधानमन्त्री ओलीले यसरी बोलेको पनि ३ महिना वित्यो । चीन र भारतबाट अहिलेसम्म जम्माजम्मी २८ लाख डोज खोप भित्रिएको छ । त्यसमध्य केही खोप जगेडा भनेर सरकारले अझै राखी छोडेको छ । सिधा तर्क, के यस्तो महामारीको बेला जगेडा भनेर खोप लुकाएर राख्ने समय हो र ? के यी सम्माननीय प्रधानमन्त्री ओलीलाई लाज लाग्नु पर्ने होइन र ? कि बोल्दै नबोल्नु बालिसकेपछि आफ्नो बोलीको औकात राख्नु पर्ने होइन र ? कोरोनाका कारण तराईमा मानिसहरु भट्टाभट मर्न थालेका छन् । काठमाडौँमा पनि यसको असर गम्भीर रुपमा पर्न थालिसक्यो । मानिसहरु मलाई खोप देउ भन्दै ५/६ घण्टासम्म लाइन बस्दा पनि खोप पाइरहेका छैनन् । घर-घर/टोल-टोलमा पुगेर खोप लगाउनु पर्ने बेला भेडा-बाख्रा थुने झैँ जनतालाई निषेध गरेर ओली सरकार निकम्मा बनेको कति समय हेरिरहनु पर्ने हो थाहा छैन । ठूला ठूला गफको पहाड बनाउने र जनताको स्वास्थ्य सुरक्षामा निरीह बन्ने ओलीको तालले देश झन् झन् स्वास्थ्य संकटमा फस्दै गएको छ । ओलीको यही रबैयाले तीन महिना त के आगामी ३ वर्षमा पनि जनताले कोरोनाको खोप लगाउन पाउने अवस्था रहन्न ।

अझै पनि खोप आयातका लागि ओलीले सिन्को भाँचेका छैनन् । चीन लगायत कोभिड खोपको विकास गरेका देशहरुसंग समन्वय गरेर खोप आयात गर्न ओली सरकार किन आनाकानी गरिरहेको छ त्यो जनताले बुझ्न पाएका छैनन् । चीनले ८ लाख डोज खोप सहयोग स्वरुप नेपाललाई उपलब्ध गराएको थियो । चिकित्सकहरुको भनाई अनुसार पनि भारतीय भन्दा चिनिया खोप प्रभावकारी छ र पनि ओली आफ्नो माघ १४ गतेको बचन भुसुक्कै विर्सिएर बालुवाटारमा सुरक्षित बसिरहेका छन् । यस्तो बेलामा उनले चीनसंग कम्तीमा पनि ५० लाख डोज खोपका लागि अपिल गर्नु पर्ने हो । तर सत्ता टिकाउने खलनायक सुत्र बाहेक ओलीको दिमागमा यस्तो बुद्धि सायदै आएको होला ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार कोरोनाविरुद्धको खोपमा धनी देशले कब्जा जमाएका छन् । विश्वमा धनी देशसँग ८२ प्रतिशत खोप रहेको तर गरिब देशको पहुँचमा ०.३ प्रतिशत मात्र रहेको डब्ल्यूएचओ भनाइ छ । तर के यसो भन्दैमा सरकार हात बाँधेर बस्न मिल्छ र ? कम्तीमा प्रयास थाल्दा के नै विग्रिन्छ र ? शक्ति र पहुँचको भरमा ठुलाबडा र टाठाबाठाहरुले खोप लगाए भन्दैमा पल पल गरी मृत्युको मुखमा पुगेका यी जनजनको पाखुरामा भ्याक्सीन पुग्नु पर्ने होइन र ? फेरि पनि स्मरण रहोस प्रधानमन्त्री ओलीले गत माघ १४ गतेको आफ्नो त्यो अभिव्यक्ति एक पटक दोहोर्याएर सुनुन र आफ्नो कर्तव्य पुरा गर्न तर्फ लागुन ।