राजनीति

सुदूरपश्चिममा एमालेका मन्त्रीद्वारा केन्द्रको निर्णय अस्वीकार, एमाले खनाल–नेपाल समूह सरकारबाट फिर्ता होलान् ?


काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने नेकपा एमालेको स्थायी कमिटी बैठकको निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन। समर्थन फिर्ता लिन र आफ्ना मन्त्रीलाई २४ घण्टाभित्र सरकारबाट फिर्ता हुन कमिटीको निर्णय प्रदेश सांसद र मन्त्रीले अस्वीकार गरेका हुन् ।
सरकारबाट बाहिरिने निर्णयको विषयमा छलफल गर्न बुधवार बिहान एमाले प्रदेश संसदीय दलको बैठक बोलाइएको छ। मंगलबार एमालेको नेपाल–खनाल निकट सांसद मात्रै सहभागी संसदीय दलको बैठक बस्ने तयारी भएको थियो। तर सो समूहमै मतभेद देखिँदा पछि बैठक स्थगित गर्नु परेको थियो। आज हुने बैठकमा ओली पक्षको पनि सहभागिता रहने स्रोतले जनाएको छ।

सरकारबाट बाहिरिन आधिकारिक निर्देशन आफूहरुलाई प्राप्त नभएको र मिडिया सुनेको भरमा राजीनामा दिने कुरा नभएको एमाले सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक तारालामा तामाङले बताए। आज हुने संसदीय दलको बैठकले यस विषयमा निकास दिने उनले बताएका छन् । उनी खनाल–नेपाल पक्षका नेता हुन् । ‘

एमालेका तीनमन्त्री अहिले पनि माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टकै सरकारमा सहभागी छन् । मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेका तर्फबाट प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा कानुनमन्त्री, कृष्णराज सुवेदी सामाजिक विकासमन्त्री र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छन् ।