Breaking

सगरमाथा चढ्न १४ रसियाली आरोहीले लिए अनुमति, आरोहण रोकन नेपाल सरकारलाई युक्रेको माग


काठमाडौँ — रुस र युक्रेनको युद्धकाबीच युक्रेनले नेपाल सरकारलाई पत्र लेखी रुसी आरोहीलाई आरोहणमा रोक लगाउन माग गरेको छ ।

नेपाल सरकारले भने कुनै पनि आरोहीलाई रोक लगाएको छैन । पर्यटन विभागका अनुसार नेपालमा सगरमाथा चढ्न रुसी आरोही आउने क्रम जारी छ । बुधबारसम्म कुल १४ जना रुसी पर्वतारोहीले सगरमाथा चढ्न अनुमति लिइसकेका छन् ।

विभागको तथ्यांक अनुसार बुधबारसम्म कुल १९ समूहका १७६ जना आरोहीले सगरमाथा चढ्न अनुमति लिएका छन् । जसमा रुसबाट ४ महिलासहित १४ जनाले अनुमति पाइसकेका छन् ।

सगरमाथाबाहेक अन्य हिमालका लागि भने २ जना रुसी नागरिकले अनुमति लिएको तथ्यांक छ । यसअनुसार कुल १६ रुसी आरोहीले बुधबारसम्म हिमाल चढ्न अनुमति प्राप्त गरेका हुन् । यसबीचमा अर्को युद्धरत मुलुक युक्रेनबाट भने एक जना पनि आरोही आएका छैनन् ।

बुधबारसम्म सगरमाथा चढ्न सबैभन्दा धेरै अमेरिकाबाट ४२ जनाले अनुमति लिएका छन् । बेलायतबाट २१, भारतीय १५, नेपाल र क्यानडाबाट १०/१० जनाले अनुमति लिएका छन् ।

सगरमाथा चढ्न कुल ३८ मुलुकका नागरिकले अनुमति लिएका हुन् । सगरमाथासहित कुल १६ वटा हिमाल चढ्न बुधबारसम्म ५३ समूहका ४५१ जनाले आरोहण अनुमति लिएका छन् । यसममा कुल ५९ मुलुकबाट नागरिक नेपाल आएका हुन् । सबैभन्दा धेरै अमेरिकाबाट ८१ जना आएका छन् ।