Breaking

कांग्रेस र माओवादीले सेटिङ गरेर चुनावमा लाभ लिए: बाबुराम भट्टराई


काठमाडौँ — जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा सेटिङ गरेर लाभ लिएको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै आफू विगतदेखि नै गठबन्धनको विपक्षमा रहेको उल्लेख गर्दै उनले स्थानीय तह निर्वाचनमा गरिएको गठबन्धन सफल नभएको बताए ।

गठबन्धनभित्र जुन सिद्धान्त अपनाइएको थियो, त्यसको पालना कसैले नगरेको उनको भनाइ थियो । ‘गठबन्धनको विषयमा त मेरो पहिलेदेखि नै धारणा थियो, यो स्थानीय तहका मुद्दाहरु, स्थानीय जनतालाई पार्टी नेताहरुलाई थाहा हुन्छ । केन्द्रबाट नै गरेर टुंगो लाग्ने विषय यो होइन, उनले भने, त्यसैले हामीले जुन अलिकति अभ्यास गर्न खोजियो त्यो सफल भएन । केही दलहरुलाई खासगरी कांग्रेस र माओवादीलाई उहाँहरुले अलिकति सेटिङ गर्नुभयो केही लाभ भयो ।

तर त्यो पनि उहाँहरु आपसमा तल मिलेजस्तो देखिएन । जे सिद्धान्त अपनाइएको थियो, त्यो कसैले पनि पालना गरेन । त्यस अर्थमा पनि स्थानीय चुनावमा गठबन्धन गर्नु उपयुक्त छैन भन्ने मेरो राय हो त्यसमा म अहिले पनि दृढ छु ।’

जनता समाजवादी पार्टी अहिलेसम्मको नतिजाअनुसार ३ ठाउँमा विजयी भएको छ भने ३१ पालिकामा अगाडि रहेको छ । जसपाले अहिलेसम्म ओखलढुंगाको खिजिदेम्बा, गम्बु शेर्पा धनुषाको जनकनन्दिनी र बाराको करैयामाईमा प्रमुख पद जितेको छ । भट्टराईको गृहनगर पालुङटारमा जसपाले एमालेसँग तालमेल गरेको थियो । जसपाले मेयर पद लिएर एमालेले उपमेयर लिने सहमति भएको थियो ।