कोरोना

खोपको पहिलो डोज नै नलगाई बुस्टर डोजको चर्चा ,बुस्टर डोज किन आवश्यक छ ?

योहो संवाददाता

काठमाडौँ – सिंगो विश्वनै यति बेला कोरोना भाइरसको नयाँ नयाँ भेरियन्टसँग लडिरहेको छ । धेरै देशले भाइरसविरुद्ध पूर्ण मात्रामा खोप लिएका सकेका छन् । कतिपय देशमा भने नागरिकले पहिलो मात्राको खोप नै लगाउन पाएको छैनन् । तर, यतिबेला खोप पाईसकेका मानिसहरुले बुस्टर डोज लगाउनु पर्ने विषय चर्चामा छ ।

कोरोना भाइरस नियन्त्रणको लागि खोप अभियान विश्वभर तीव्र रुपमा चलिरहेको छ । कतिपय धनी देशले भने कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाउन थालेका छन् । बेलायत, फ्रान्स, जर्मनीलगायत २९ देशले बुस्टर भ्याक्सिन लगाउने योजना बनाइरहेका छन् । इजरायल कोरोनाको बुस्टर डोज दिने संसारकै पहिलो देश बनेको छ । अधिकांश देशमा दोस्रो डोज लगाइसकेको ६ महिनादेखि एक वर्षको अन्तरालमा बुस्टर खोप लगाउन सकिनेबारे अध्ययन भइरहेको छ । नेपालमा अझै पनि ठुलो जनसंख्याले कोरोना विरुद्धको खोप पाएका छैनन् । बुस्टर डोज लगायो भने शरिरमा एन्टिबडीको मात्रा ५ देखि १० गुणासम्म बढ्ने देखिएको विज्ञहरु बताउँछन् । तर, नेपालमा अहिले बुस्टर डोज लगाउन हतार नभएको उनीहरु बताउछन् ।

सबै मानिसले कोभिड खोप पाइनसकेको अवस्थामा खोप पाइसकेका व्यक्तिलाई बूस्टर डोज दिन उचित नहुने विज्ञहरु बताउछन् । नेपालमा कोरोना खोप अपर्याप्त भएको बेलामा बुस्टर डोज लगाउन सम्भव नभएको विज्ञहरुको बुझाई छ । बुस्टर डोज अहिले देखिएका भेरियन्टविरुद्ध प्रभावकारी भएको बताइए पनि विश्व स्वास्थ्य संगठनले भने धनी मुलुक बूस्टर डोजको पछि लाग्दा निम्न आय भएका देशहरुले पहिलो डोज खोप पनि नपाउने अवस्था आउने भन्दै चिन्ता जनाएको छ ।