काठमाडौं– गत फागुन २१ मा सम्पन्न निर्वाचनमा बेहोरेको पराजय, पार्टीभित्र बढ्दो आन्तरिक असन्तुष्टि र नेतृत्व परिवर्तनको बहसबीच नेकपा एमालेले आफ्नो संगठनात्मक एकता प्रदर्शन गर्ने प्रयास गरेको छ । राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा दिने र आगामी स्थानीय तह निर्वाचनको तयारी गर्ने उद्देश्यसहित एमालेले बुधवारदेखि राष्ट्रिय भेला सुरु गरेको हो । भेलामा पुराना पुस्तादेखि वर्तमान नेतृत्वसम्मका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता छ । तर, यो भेला पार्टीलाई पुनर्जीवित गर्ने अभियान हो वा नेतृत्वमाथि उठेका प्रश्नलाई साम्य पार्ने रणनीति मात्रै ? निकट भविष्यले निर्धारण गर्ने नै छ । त्यसो त भेलामा ‘नेपाली नेल्सन मण्डेला’ भनेर चिनिने पुराना नेता मोहनचन्द्र अधिकारी, संस्थापक नेता पुष्पलालका भाइ विजयलाल श्रेष्ठ तथा दिवंगत नेता जीवराज आश्रितकी पत्नी माया ज्ञवालीसम्मको उपस्थिति रह्यो । अध्यक्ष केपी शर्मा ओलीले पार्टीमै क्रियाशील नेताहरूको वास्ता गर्न छाडेको आरोप खेपिरहेका बेला पछिल्लो समय राजनीतिक गतिविधिमा कमै देखिने अधिकारीको उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ । त्यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरेका एमालेका पूर्वसचिव एवं नेता टोपबहादुर रायमाझी पनि कैद छुट पाएर रिहा भएसँगै भेलामा सहभागी भए । भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरू राणा, राजा र पञ्चायतविरुद्ध लडेर आएको प्रसङ्ग उल्लेख गर्दै एमाले फेरि उठ्ने र सरकारमा पुग्ने दाबी गरे ।
Breaking


प्रतिक्रिया