Breaking

फास्ट ट्र्याकमा सरकारको चासो, कति बन्यो ? कति समयमा सकिन्छ ? सेनाकै अगाडि मन्त्री लम्सालको चेतावनी (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत एउटा यस्तो विकास परियोजना छ, जुन सम्पन्न हुनासाथ नेपालको पूर्वाधार विकास नयाँ युगमा प्रवेश गर्नेछ । काठमाडौंबाट केवल १ घण्टामै तराई पुग्न सकिने गरी निर्माण भइरहेको काठमाडौं–तराई, मधेश द्रुतमार्ग अर्थात् ‘फास्ट ट्रयाक’ यस्तो रणनीतिक आयोजना हो, जसले राजधानी र मधेशबीचको आर्थिक तथा सामाजिक दूरी घटाउन कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ । कुल ७०.९७७ किलोमिटर लम्बाइ रहेको यो सडकखण्डमा सात स्थानमा १४ वटा सुरुङमार्ग र ८९ वटा पुललगायतका जटिल संरचनाहरू बन्दैछन् । जसमा पहाडी खण्डमा २५ मिटर र तराई खण्डमा २७ मिटर चौडाइको सडक निर्माण हुनेछ । तर, ४ वर्षमै सक्ने लक्ष्यसहित ९ वर्षअघि अर्थात् २०७४ साउनमा सुरु भएको यस आयोजनाको प्रगति भने अहिलेसम्म जम्मा ५१ प्रतिशतमा सीमित छ । सुस्त निर्माण गति, जग्गा अधिग्रहण विवाद र रुख कटानमा भएको ढिलाइका कारण निर्माण व्यवस्थापनको जिम्मेवारी पाएको नेपाली सेना निरन्तर आलोचित हुँदै आएको छ । यसैबीच, बुधबार आयोजनाअन्तर्गतकै सबैभन्दा लामो सुरुङमार्गको ब्रेक थ्रु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा ३ हजार ४ सय २२ मिटर लम्बाइको महादेवटार सुरुङको दुवैतर्फको खण्ड एकापसमा जोडिएको हो । यसलाई हाल नेपालकै सबैभन्दा लामो सुरुङमार्ग मानिएको छ ।