देश

बालेन IGP हुत्याउँदै, काउन्टरमा हेडक्वार्टर बैठक, रविले खोजे खगेन्द्रको बर्खास्ती, गृहमन्त्री सुधन गुमनाम (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– नेपाल प्रहरीको नेतृत्व परिवर्तनबारे राजनीतिक वृत्तमा सुरु भएको बहससँगै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको पदलाई लिएर चासो र संशय बढेको छ । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच बुधबार भएको करिब चार घण्टा लामो भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । रास्वपा स्रोतका अनुसार प्रधानमन्त्री शाह आफैँ लामिछानेको बूढानीलकण्ठस्थित निवासमा पुगेका थिए । भारत भ्रमणबाट फर्किएका लामिछानेसँग भएको उक्त भेटमा सत्ता समीकरण, पार्टी, सरकार, सांसदहरूसँग सम्बन्धित विवाद तथा कर्मचारी प्रशासनसम्बन्धी विधेयकलगायतका समसामयिक विषयमा छलफल भएको बताइएको छ । आईजीपी कार्कीलाई हटाउने विषयमा दुई नेताबीच सहमति भएको हो वा होइन भन्नेबारे दुवै पक्षबाट औपचारिक पुष्टि भने हुन सकेको छैन । निर्वाचन प्रहरीका लागि पोसाक तथा जुत्ता खरिद प्रकरणमा भएको भनिएको अनियमितताको आरोप, प्रहरी प्रमुखको कार्यशैली र राजनीतिक नेतृत्वबीचको टकरावले यतिबेला नयाँ बहस जन्माएको छ । आईजीपी कार्कीले राजीनामा नदिए मन्त्रिपरिषद्बाटै निर्णय गरेर हटाउने तयारी भइरहेको बालुवाटार स्रोतको दाबी छ । उता विगत एक सातादेखि मन्त्रिपरिषद्को नियमित बैठकसमेत बस्न सकेको छैन ।