नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता पाएपछि फ्रेन्चाइज टिमहरूले ठूला र नाम चलेका विदेशी खेलाडीहरूलाई धमाधम क्लबमा भित्र्याइरहेका छन् । आईसीसीबाट प्राप्त स्याङ्सनले उत्साहित बनेका फ्रेन्चाइजीहरूले लिग सुरु भइसकेपछि पनि सक्रिय अन्तर्राष्ट्रिय खेलाडीहरूलाई अनुबन्ध गर्न छोडेका छैनन् । लिग सुरु भएको तेस्रो दिन बुधबार मात्रै नयाँ विदेशी खेलाडीहरू क्लबमा आबद्ध हुने क्रम जारी रह्यो । सुदूरपश्चिम रोयल्सले श्रीलङ्काली अलराउन्डर थरिन्दु रथ्नायके र पोखरा एभेन्जर्सले सदिरा समराविक्रमालाई अनुबन्ध गरेका छन् । वेस्ट इन्डिज, श्रीलङ्का, बङ्गलादेश, जिम्बाब्वे, न्यूजिल्याण्ड र साउथ अफ्रिकासँगै पाकिस्तानका खेलाडीलाई पनि विभिन्न टिमहरूले साइनिङ गरिरहेका छन् । तर, पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आफ्ना खेलाडीलाई एनपीएल खेल्न कडा सर्त अघि सारेपछि भने समस्या उत्पन्न भएको छ । पाकिस्तानी खेलाडीलाई एनपीएलमा खेलाउने हो भने अनुबन्ध रकमबाहेक प्रतिखेलाडी अतिरिक्त २५ हजार अमेरिकी डलर बोर्डलाई बुझाउनुपर्ने सर्त अघि सारेको खुलेको छ । तर, पीसीबीले नेपाल क्रिकेट सङ्घ (क्यान), एनपीएलको सम्पूर्ण जिम्मा पाएको सञ्चालक परिषद् वा फ्रेन्चाइजसँग सिधा सम्पर्क भने गरेको होइन ।
Breaking


प्रतिक्रिया