Breaking

रवि–जीबीको कनेक्सन, ठूला ठग विदेशमै, २ प्रतिशत प्रगति, प्रतिभाकै अगाडि रोकिएन पीडितको आँसु (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– नेपालको वित्तीय इतिहासमै सबैभन्दा ठूलो आर्थिक हिनामिना र अपराधको पर्याय बनेको छ— सहकारी ठगी प्रकरण । सरकारी तथ्याङ्क अनुसार नै समस्याग्रस्त घोषणा गरिएका २३ वटा सहकारीमा मात्रै ७६ हजारभन्दा बढी बचतकर्ताको ४५ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना भएको छ । यद्यपि, सरकारले समस्याग्रस्त घोषणा नगरेका अन्य सहकारीहरूको हिसाब जोड्दा सर्वसाधारणको झन्डै ७० देखि ८० अर्ब रुपैयाँ डुबेको आँकलन छ । खाई–नखाई, पसिना बगाएर पाइ–पाइ जम्मा गरेको रकममा ठगहरूको गिद्धे नजर परेपछि हजारौँ बचतकर्ता घर न घाटको अवस्थामा पुगेका छन् । वर्षौंदेखि उनीहरू न्याय माग्दै सडकमा भौंतारिरहेका छन् । न पीडितले आफ्नो पसिना बगाएर जम्मा गरेको बचत फिर्ता पाएका छन्, न त मुख्य ठगहरूलाई नै कानुनी कठघरामा उभ्याइएको छ ।
यसबीचमा पटक–पटक सरकार फेरिए, मन्त्रीहरू फेरिए, तर सहकारी पीडितको नियति र मुद्दा आज पनि जस्ताको त्यस्तै छ । राजनीतिक दलहरूले यसलाई कहिले राजनीतिक दाउपेच बनाए, कहिले चुनावी एजेन्डा त कहिले सत्ता समीकरण फेर्ने हतियार! तर, बचतकर्ताको आँखाबाट बगेको आँसु अझै रोकिन सकेको छैन । कसको आस गर्ने र कहिलेसम्म पर्खने ? पीडितहरूको बल्झिँदो घाउमा राज्यले अहिलेसम्म मलम लगाउन सकेको छैन ।