खेलकुद

एनपीएल : ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

योहो संवाददाता

 नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरका १० स्थानमा फ्यान जोन सञ्चालन गर्ने भएको छ।

क्रिकेटप्रेमीलाई आफ्नै सहरमा बसेर प्रतियोगिताको रोमाञ्च अनुभव गराउने उद्देश्यले कम्पनीले यस्तो व्यवस्था गर्न लागेको हो।कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुने एनपीएलका खेल फ्यान जोनमा राखिने ठूला एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। फ्यान जोनमा प्रवेश निःशुल्क रहने कम्पनीले जनाएको छ।

काठमाडौं उपत्यकामा सिफल मैदान, कीर्तिपुरस्थित माइक्रो पार्क र त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानको दोस्रो गेटअगाडिको मैदानमा फ्यान जोन सञ्चालन हुनेछन्।

त्यस्तै, उपत्यकाबाहिर धनगढीको कभर्ड हल क्षेत्र, सुर्खेतको घण्टाघर डबली, बुटवलको सिद्धेश्वरी ग्राउन्ड, पोखराको मालेपाटन चौर र चितवनस्थित वीरेन्द्र बहुमुखी क्याम्पसको डिग्री कलेज परिसरमा फ्यान जोन रहनेछन्। मधेश प्रदेशको जनकपुरस्थित बाह्रबिघा चौर र विराटनगरको पुरानो गुद्री मैदानमा समेत खेल हेर्ने व्यवस्था मिलाइनेछ।

कम्पनीका अनुसार फ्यान जोनलाई खेल हेर्ने स्थानमा मात्र सीमित नराखी मनोरञ्जन र सामूहिक उत्सवको केन्द्रका रूपमा विकास गरिनेछ। त्यहाँ खेलको प्रत्यक्ष प्रसारणसँगै साङ्गीतिक प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम र विभिन्न खेलकुद गतिविधि सञ्चालन गरिनेछन्। साथै, गिभअवे कार्यक्रममार्फत दर्शकले आकर्षक उपहार प्राप्त गर्ने अवसरसमेत पाउनेछन्।

रंगशालामा पुगेर प्रत्यक्ष खेल हेर्न नसक्ने दर्शकलाई पनि आफ्नै सहरमा बसेर एनपीएलको अनुभव दिलाउने उद्देश्यले फ्यान जोन सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ। यसले क्रिकेटप्रेमीलाई एउटै ठाउँमा भेला भएर आफ्नो मनपर्ने टिमलाई समर्थन गर्न र प्रतियोगिताको उत्साह साटासाट गर्न अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

एनपीएलको बढ्दो लोकप्रियतासँगै क्रिकेट, सङ्गीत र मनोरञ्जनलाई एकै ठाउँमा जोड्ने लक्ष्य राखिएको एक्सट्रीमको यो पहलले प्रतियोगिताको रौनक देशभर फैलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।