देश

रवि–मोदी भेट ऐतिहासिक, बालेनसँग सहकार्यको खोजी, नयाँ शिराबाट दुई देश अघि बढ्ने प्रतिबद्धता (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्तालाई चासोका साथ हेरिएको छ । सत्तारूढ दलको सभापतिका रूपमा भएको यो भ्रमण नौलो विषय नभए पनि, रविलाई गरिएको स्वागत र सम्मान विगतको भन्दा भिन्न देखिएको छ । भारतीय जनता पार्टीको निमन्त्रणामा पाँचदिने भ्रमणका लागि भारत पुगेका रास्वपा सभापति लामिछानेको भ्रमणलाई निकै महत्त्वका साथ हेरिनुका साथै दुवै मुलुकमा विशेष चर्चा समेत पाइरहेको छ । भाजपा केन्द्रीय कार्यालयमा उनलाई बाजागाजा र पुष्पवृष्टिसहित गरिएको स्वागत होस् वा विगतमा सरकार प्रमुखको हैसियतमा समेत भेट्न नपाएका भारतीय प्रधानमन्त्री मोदीसँगको उनको भेट; यसले धेरैको ध्यान तानेको छ ।