अर्थनीति

विद्वान स्वर्णिमको हालत, बजेटको करमै सेटिङ, बालेनमाथि नैतिक दबाब, रातारात बिचौलिया हाबी (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारका सबैभन्दा विज्ञ र अब्बल मन्त्रीको परिचय बनाएका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अहिले आफ्नै कार्यसम्पादन र मनलाग्दी निर्णयका कारण आलोचित बन्दै गएका छन् । ठूलो आशा र भरोसाका बीच रास्वपा सरकारको पहिलो बजेट प्रस्तुत गरेका अर्थमन्त्री वाग्ले आफ्नै कार्यशैली र निर्णयले आलोचनाको सिकार बनेका छन् । समग्रतामा बजेटमा सकारात्मक पक्ष देखिए पनि पूर्ण रूपमा अपेक्षित बजेट नआएको भन्दै उनीप्रति असन्तुष्टि पोखिँदै आएको थियो । त्यसमाथि, जेठ १५ गते संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमा अर्थमन्त्री वाग्लेले मनलाग्दी रूपमा गरेको संशोधनले उनको नियतमाथि नै प्रश्न उठ्न थालेको छ । जेठ १५ गते बजेटसँगै सदनमा पेस गरिएको ४ सय ६७ पृष्ठ लामो आर्थिक विधेयक २०८३ सोही दिन अर्थ मन्त्रालयको वेबसाइटमा पनि अपलोड गरिएको थियो । तर, बुधबारसम्म आइपुग्दा मनमौजी ढङ्गले चार पटकसम्म हेरफेर गरेर उक्त विधेयकलाई ४ सय ५० पृष्ठको बनाइएको छ । हरेक परिवर्तनमा कतै करका दर घटाइएका छन् भने कतै थपिएका छन् । केहीलाई राहत दिइएको छ भने केहीमाथि भारी कर लगाइएको छ । बजेट सार्वजनिक भएको भोलिपल्टदेखि नै यसरी मनपरी रूपमा करका दर हेरफेर हुनुलाई गम्भीर चासोका साथ हेरिएको छ । विज्ञ भनिएका मन्त्रीले नै विधि र प्रक्रियाबिना पटक–पटक करका दर परिवर्तन गर्नुले उनको नियतमाथि आशङ्का उत्पन्न गराएको छ ।