काठमाडौं—आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । साथै सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना गरिएको छ । त्यसअघि बिहानै नेपाली सेनाले गणतन्त्रको स्वागतमा तोप पड्काएको छ ।
सैनिक मञ्चको कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहने छ । सो समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्नुहुनेछ । अघिल्ला वर्षहरुमा राष्ट्रपति सहभागी भए पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो । तर यस वर्ष प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने हुनुभएको हो ।
प्रधानमन्त्री शाहले गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले राष्ट्रपतिलाई नै सम्बोधन गर्न अनुरोध गरेर पत्र शीतल निवासमा पठाउनुभएको थियो । प्रधानमन्त्रीको सचिवालयले सैनिक मञ्च टुँडीखेलको कार्यक्रममा प्रधानमन्त्री जाने तर समारोहलाई सम्बोधन नगर्ने जनाएको छ ।


प्रतिक्रिया