देश

हावाहुरीले क्षति पुर्‍याएका जिल्लाहरुमा राहत दिन सांसदहरुले गरे सरकारको ध्यानाकर्षण

योहो संवाददाता

काठमाडौं— हावाहुरीले विभिन्न जिल्लाहरुमा क्षति पुर्‍याएको भन्दै सांसदहरुले पीडितहरुलाई राहत तथा उचित बासको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । हावाहुरीका कारण बागलुङ, गुल्मी र प्युठानमा ठूलो क्षति पुर्‍याएको भन्दै आजको प्रतिनिधि सभा बैठकमा सांसदहरुले पीडितहरुलाई राहत तथा उचित बासको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बागलुङ जिल्लाको बडिगाड गाउँपालिका क्षेत्रमा असिनापानीसहितको हावाहुरीले दुई दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ । कृषि बालीसमेत नष्ट भएको छ । विद्यालयको छाना उडेकाले विधार्थीहरुको पढाइ प्रभावित भएको छ भने बिजुलीका पोल ढलेर विद्युत सेवा अवरुद्ध भएको छ ।

यसैबीच, बागलुङ, गुल्मी र प्युठानमा हावाहुरीले पुर्‍याएको क्षतिबारे पनि आजको प्रतिनिधिसभा बैठकमा ध्यानाकर्षण भएको छ ।

यसैगरी गुल्मीका मालिका, नेटा, घमिरलगायत क्षेत्रमा करिब १५० घरको छाना उडेको, खाद्यान्न नष्ट भएको र बालीनालीमा क्षति पुगेको जानकारी गराउँदै प्रभावित नागरिकका लागि राहत तथा पुनर्स्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराईएको छ ।